क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी पुस ३ देखि काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई मान्यता दिएको छ।

कुनै पनि देशको क्रिकेट संघ निलम्बनमा परेको अवस्थानमा घरेलु प्रतियोगिता गर्न आइसिसीको मान्यता हुनुपर्ने नियमअनुसार आइसिसीले इपिएललाई मान्यता दिएको हो।

योसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलेसमेत प्रतियोगितामा सहभागी हुन पाउने भएका छन्। इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले एक वर्षका लागि आइसिसिले मान्यता दिएको भन्दै त्यसवापत इपिलले २० हजार डलर समेत आइसिसीलाई बुझाएको बताएका छन्।

यसअघि आइसिसीले इपिएल मान्यता प्राप्त प्रतियोगिता नभएकाले कुनै पनि खेलाडीलाई खेल्न अनुमति नभएको जानकारी दिएको थियो।

आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमतिन दिन नसकिने इमेल मार्फत जनाएका थिए।