उदयपुर / उदयपुरमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या उच्च भेटिएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यकर्ता परिचालन गरेर भोट हाल्न सिकाएको दाबी गरे पनि बदर मतको संख्याले प्रभावकारी नभएको पुष्टि गरेको हो।

मुख्य निर्वाचन कार्यालयले पठाएको अन्तिम मत परिमाणमा सबैभन्दा बढी मत समानुपातिकतर्फ मत बदर भएको छ। विद्यालयका शिक्षक–शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ता बनाएर मतदाता शिक्षा दिन खटाएको थियो। धेरै मतदाता शिक्षा गाँउघरमा नपुगेकोले मत बदर भएको समेत बताइन्छ। निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खड्काले मतादाता शिक्षा प्रभावकारी भएको दाबी गरे। ‘बदर मतको संख्या चाहिँ उच्च नै हो,’ उनले भने, ‘मतदाता शिक्षा सञ्चालन गरेकै हौं, कसरी भेटियो भन्नु।’

पहाडी क्षेत्रका मतदाता, अति विपन्न र साक्षर समेत नभएका समुदायको मत बढी बदर भएको छ। ‘हामीले मत खसाल्न गाउँ गाउँमा कार्यकर्ता पठाएर सिकाएका हौ,’ पुन खड्काले भने, ‘यसमा राजनीतिक दलले पनि ध्याँन दिएको पाइदैन, दलले प्रत्येक्षमा मात्र भोट मागेकोले पनि समानुपातिक मत धेरै बदर भएको हो।’

सबैभन्दा बढी समानुपातिकतर्फ मत बदर प्रतिनिधिसभा र प्रदेससभाको समानुपातिक तर्फ ३२ हजार २०२ मत बदर भएको छ। निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार ४ प्रदेससभामा १३ हजार ३९६ र प्रतिनिधिसभातर्फ मात्र १८ हजार ८०६ मत बदर भएको हो। प्रनितिधिसभा १ मा ७४ हजार ८३६ मत खसेकोमा ६६ हजार ५९९ मत मात्र सदर भएको छ भने ८ हजार २३८ मत बदर भएको छ। यसैगरी प्रतिनिधिसभा २ मा ४२ हजार ९०५ मत खसेकोमा ३७ हजार ७२० मत सदर भएको थियो। जहाँ ५ हजार १८५ मत बदर भएको हो। यता, प्रदेसभामा १ को ख मा ३९ हजार ०७३ मत खसेकोमा ६ हजार ५३५ मत बदर भएको छ। यहाँ ३२ हजार ५३८ मत मात्र सदर भएको जानकारी दिइएको छ। फेरि १ कै ‘क’ प्रदेसभामा ३५ हजार ७६४ मत खसेकोमा ५ हजार १०८ मत बदर भएको छ। यहँ ३० हजार ६५६ मत मात्र सदर भएको छ। प्रतिनिधिसभा २ को ‘क’ प्रदेसभामा १७ हजार ८६८ मत खसेकोमा ३ हजार १५ मत बदर भएको छ। जसमा १४ हजार ९५२ सदर भएको हो। २ को ख मा २४ हजार ९३८ मत खसेकोमा ४ हजार १४८ मत बदर भएको छ। यहाँ २० हजार ७९० मत मात्र सदर भएको छ।

प्रत्यक्षतर्फ १३ हजारभन्दाबढी मत बदर

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ उदयपुरमा १३ हजार ३२७ मत बदर भएको छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा १ लाख १४ हजार ५८८ मतदाता रहेकामा ७४ हजार १०४ मत खसेको थियो। जसमा ४ हजार ४८९ मत बदर भएको छ। क्षेत्र नं २ मा ७९ हजार ३२७ मतदाता रहेकामा ४२ हजार ८९१ मत खसेको थियो।

खसेको मतमध्ये २ हजार ६ सय ६२ मत बदर भएको छ। मतदाता शिक्षाको अभाव, मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको हो। क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ (क) मा २ हजार २१८ मत र प्रदेश सभा १(ख) मा १ हजार ४ सय ३० मत बदर भएको छ। प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा २(क) मा ९५९ मत र प्रदेश सभा २(ख) १ हजार १६९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी अर्जुन खड्काले बताए। उनले भने, ‘हामीले मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनौं, त्यस्तो त्रुटि पनि देखियो’ कुल १ लाख ९३ हजार ९ सय १८ मतदाता रहेको जिल्लामा १ लाख १६ हजार ९ सय ९५ मत खसेको थियो। उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुई र प्रदेशसभा चार रहेको छ।

गणक टोली भन्छन् ‘वामको मत बढी बदर’

मत गणनाको लागि राजनीतिक दलबाट प्रतिनिधि बसेकाहरुले सवैभन्दा बढी मत वाम गठबन्धनको भएको दाबी गरेका छन। प्रत्येक्षतर्फ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम तलमेल गरेर चुनाव लडेको भएपनि समानुपातिकमा मतदाता झुकिएका छन्। ‘समानुपातिकमा सूर्य र हँसिया हथौडालाई दुवै मत दिएको पाइयो,’ मतगणनामा बसेका माओवादीका होम बस्नेतले भने, ‘प्रत्यक्षमा हँसिया हथौडा वा सूर्य एउटामा हाले पनि समानुपातिकमा दुवै मत लगाएका छन्।’

कतै हातले ल्याप्चे लगाएको, समानुपातिककको मत पत्र प्रत्येक्षमा हाले, मत पत्रभरी मत संकेत गरेका लगायतका मत्र पत्र धेरै भेटिएको मत गणक टोलीले बताएको छ। ‘वाम तालमेल गरेका दलले एउटै चुनाव चिह्नमा लडेको धेरै मत बदर हुने थिएन,’ नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवनकुमार कार्की कुशलले भने, ‘दुई चिह्न भएकाले पनि मतदाता झुकिएको महसुस मैले गरेको छु।’