धरान/बोट मर्ने, किरा लाग्ने कारण हरेक वर्ष सुन्तला उत्पादनमा ह्रास आइरहेको छ । भोजपुरका सुन्तला कृषक भूपाल राई सुन्तलामा किरा लाग्ने कारण चिन्तित छन् । गत साल १० गाडी सुन्तला बेचेका राईले यसपल्ट आधा पनि नहुने बताए । ‘पोरको त आधा जति पनि हुँदैन ।’ कृषक राईले फोन सम्पर्कमा भने । उनका अनुसार भोजपुरमा बोट मर्ने समस्या सुरु भएको छैन् । तर, किराको प्रकोप अत्यधिक बढी छ । फल्न सुरु नर्गर्दै भित्रभित्रै किरा लाग्ने कारण लागेको फल पनि झर्ने गरेको उनी बताउँछन् । वर्षेनी ३ लाख माथिको सुन्तला बेच्ने राई मात्रै हैन, धनकुटा मौनाबुदुकका पदम कोइरालाको बारीमा पनि उस्तै समस्या छ । उनको बारीको केही बोटहरु सुक्न थालेका छन् । ‘मल कम्ती भएर मर्ने समस्या भएको हो कि’ उनको अनुमान यस्तै छ । सुरुमा पात झर्न सुरु गर्ने त्यसपछि बोट मर्ने गरेको उनी सुनाउँछन् । गतवर्ष १५ गाडी भन्दा माथि सुन्तला बिक्री गरेका कृषक कोइरालाले यसपटक गाउँभरीको जम्मा गरेर ११ गाडी बिक्री गरेको बताए ।
 

सुन्तलाको भाउ उच्च

सुन्तलाको उत्पादन घटे पनि गतवर्षको तुलनामा यो वर्ष सुन्तलाको भाउ उच्च रहेको छ । थोक बजार मै ठूलो साइजको सुन्तला प्रतिकेजी १२० रुपैयाले कारोबार भइरहेको छ । गतवर्ष यो सिजनमा ठूलो साइजको औषतमा प्रतिकेजी ८५ रुपैया रहेको कृषि उपज बजार स्थल धरानले जनाएको छ । बजारमा खुद्रा मूल्य प्रतिकेजी १४० रुपैयादेखि १७० रुपैयासम्म रहेको छ ।

‘फलाई यसचोटी घटेको छ ।’ उनी भन्छन् । कतिपय कृषकहरुले भने एकसाल बढी फल्ने र एक साल घट्ने समस्या भएको सुनाउँछन् । तर, यो पटक भने धरानको कृषि उपज बजार स्थलमा २५ प्रतिशत सुन्तला पनि नआइपुगेको थोक ब्यापारीहरु बताउँछन् । व्यापारी ज्ञानबहादुर बस्नेतका अनुसार खोकुछिन्ताङमा बोट मर्ने समस्याका कारण १० प्रतिशत पनि सुन्तला फलेको छैन् । ‘पोर दैनिक आउने माल यो पटक सातादिनमा आउँछ ।’ व्यापारी बस्नेत सुनाउँछन् । स्वादिलो सुन्तलामा खोकुछिन्ताङले राष्ट्रिय ख्यातीसमेत कमाएको छ । भोजपुरमा २५ प्रतिशत सुन्तला नफलेको व्यापारीहरु ऋनुमान लगाउँछन् । गतवर्ष भोजपुरले मात्रै २९ करोडको सुन्तलाको कारोबार गरेको थियो । यो पटक ५ देखि १० करोडको सुन्तलाको कारोबार हुने कृषक राई अनुमान लगाउँछन् । २०७३ को मंसिरको अन्तिम सातासम्म ३ हजार ६४० मेट्रिक टन कारोबार भएको थियो । जसको मूल्य ३० करोड ९४ लाख बराबर हुन आउँछ । र, यो वर्ष एक हजार ६५० मेट्रिक टन मात्रै कारोबार भएको छ । मूल्यका हिसावले यो पटक १८ करोड बराबरको हुन आउने कृषि उपज बजार स्थलका बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । आर्थिक वर्ष २०७३/०७४ मा ७ हजार ९२५ मेट्रिक टन कारोबार भएको छ । जसको बजार मूल्य ७१ करोड रुपैया हुन आउँछ । कात्तिकको पहिलो साताबाट कारोबार सुरु हुने सुन्तला चैत्रको पहिलो सातासम्म रहने गरेको छ । धरानमा दैनिक २० देखि ३० मेट्रिक टन कारोबार भइरहेको छ । हाल भोजपुर र धनकुटाको मौनाबुधुकबाट सुन्तला आइरहेको कृषि उपजले जनाएको छ । यहाँबाट तराईका बजारसँगै भारतसम्म सुन्तला पुग्ने गरेको छ ।