ताप्लेजुङ/ ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या यो वर्ष बृद्धि भएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अनुसार अघिल्लो वर्षको तुलनामा ताप्लेजुङमा रहेको कञ्चनजंघा हिमाल सहित पर्यटकिय क्षेत्रमा घुम्न आउने विदेशि पर्यटकको संख्यामा बृद्धि भएको हो ।

परिषदको तथ्यांक अनुसार यो वर्षको वैशाखदेखि मंसिरसम्ममा ६ सय ७ जनाले कञ्चनजंघा क्षेत्रको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा अधिक बढी हो । गत वर्ष भरिमा ६ सय १२ जनाले भ्रमण गरेका थिए । युरोपियन देश र छिमेकी भारत, चीन लगायतका २३ राष्ट्रका पर्यटक आएको ताप्लेजुङ जिल्लामा हालसम्म सबैभन्दा बढी एक सिजनमा ९ सय पर्यटकले भ्रमण गरेको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । स्थानीयले अक्टोबर र अप्रिललाई पर्यटक आउने सिजनका रूपमा बुझ्ने गरेका छन् । असार, साउन, माघ र फागुनमा भने विदेशीको अनुहार समेत देख्न नपाइने व्यवस्थापन परिषदका पर्यटन सहायक टासी तेञ्जिङ शेपाको भनाई छ । मेचि पहाडि जिल्ला मध्ये ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थल कालोपत्रे भएर पनि जहाज नचलेका कारण अझै सोचे अनुसार पर्यटक नआएको पर्यटन व्यवसायी बताउँछन् । “पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ, जहाजबाट आउन र फर्कन पाए भ्रमण अवधि छोटिने भएकाले पर्यटक काठमाडौंबाट सीधै सुकेटार विमानस्थल आउन चाहन्छन्, यसो गरे उनीहरूलाई भाडा पनि सस्तो पर्छ तर जहाज नियमित नचल्दा काठमाडौंबाट झापाको भद्रपुर आएर गाडीमा आउनुपर्ने हुँदा अझै कम आएका हुन्” – शेर्पा भन्छन् । आएका पर्यटक धमाधम फर्कन थाले,

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा सँगै कुम्भकर्ण लगायतका हिमसृङ्खलाको अवलोकनका लागि आएका पर्यटक मंसिर महिना सकिए सँगै धमाधम फर्कन थालेका छन् । चिसो मौसम सुरु भएसँगै हिउँ पर्ने भएकाले अधिकांशले हिमाली क्षेत्रका बेसक्याम्प छोडेका छन् । कञ्चनजंघा हिमाल आधारसिविर भन्दा तल रहेको बस्थि घुन्साबाट सबै समूह सदरमुकाम फुङलिङतर्फ फर्किएको घुन्साका स्थानियले बताएका छन् ।

हिमालको उत्तरी मोहडा पाङपेमाबाट खम्बाछेन हुँदै घुन्सा झरेका उनीहरू सबै चिसो बढे पछि आ–आफ्ना देश फर्कन थालेका हुन् । घुन्साका पर्यटन व्यवसायी हिमाली चुङदा शेर्पाका अनुसार यो समय हिउँ पर्ने र माथिल्लो क्षेत्रमा खाने बस्ने व्यवस्था नहुने हुँदा पर्यटक फर्कनु परेको हो । शेर्पाका अनुसार असार, साउनमा वर्षा र पुस, माघ फागुनमा हिउँका कारण पर्यटक यो क्षेत्रमा आउँदैनन् । असार, साउनमा बाढी पहिरो र पुस, माघ र फागुनमा हिउँका कारण हिँडडुल गर्न जोखिम हुने गरेको छ । पर्यटकको सेवाका लागि माथिल्ला क्षेत्रमा बसेका स्थानिय पनि चिसो र हिमपात हुन पुर्व तल्लो क्षेत्रमा झरेका छन् । रोनाक, पाङपेमा, सेलेले, लोङथाङ लगायत स्थानबाट स्थानिय पनि घुन्सा फर्किएका हुन् । उनीहरूले अब फागुनमा मात्रै खोल्ने गरी पसल बन्द गरेको स्थानियले बताए । पर्यटक सिजन सुरु भएपछि चौरी, याकलाई सामान बोकाएर स्थानिय पनि व्यापारका लागि हिमालको फेद तर्फ चड्ने गर्दछन् भने सोहि सिजनमा पर्यटक पनि घुम्न आउने गर्दछन् । पर्यटकिय सिजनमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ देखि केहि किलोमिटर माथि रहेको सुकेटारबाट सुरु भएको यात्रा त्यहीँ आएर टुंग्याउन २२ दिन लाग्छ । यो अवधिमा ८ हजार ५ सय ८४ मिटर उचाइको विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा, ८ हजार मिटर माथिका अरू दुईसहित ७ हजार मिटर माथिका ११ हिमशृंखला अवलोकन गर्न पाइन्छ । घुन्सा बजारबाट छुट्टिने कञ्चनजंघाको उत्तरी र दक्षिणी दुवै मोहडा पुगिन्छ । बाटामा पाइने झरना, वन्यजन्तु, ताल, नदी पनि देख्न पाइन्छ ।