धरान/कवि मुनाराज शेर्माको ‘शब्दहरुको याक्सा’ माथि शनिबार विमल स्मृति पुस्तकालयमा बहस भएको छ । [caption id="attachment_64994" align="alignnone" width="979"] तस्बिरःभोजराज श्रेष्ठ[/caption] कविता संग्रहले ‘तर्कवाद र पहिचान’ लाई उठान गरेको कविहरुले बताएका छन् । कवि मनु मञ्जिलले शब्दहरुको याक्सा तर्कसहितको कविता रहेको बताए । ‘यो तर्कसहितको कविता हो । प्रत्येक कवितामा पहिचान आउँछ ।’ उनले भने । उनले मूल स्वरको रुपमा तर्क र अर्को पहिचानलाई उठान गरेको बताए । कवि शेर्माले अनेक आयमहरुलाई जोडेर लेख्ने कौशल रहेको बताए । कवितामा प्रवेश गर्न सहज भए पनि भित्र छिर्दै जाँदा कठिन हुँदै जाने उनले बताए । ‘शेर्माको कवितामा ज्यादा आर्ट भन्दा पनि लजिक बढी छ ।’ उनले भने । त्यही क्रममा कवि सीमा आभाषले पनि कविको चेतनाको स्तर, सोचको दायरा कवितामा भेट्न सकिने बताइन् । उनले हरेक कविताका प्रत्येक हरफले फरक–फरक कुराहरु दिँदै कविता अन्त्य हुने बताए । ‘कविता आफैमा युनिक छ । भत्किदो सौन्दर्य मैले पाएँ ।’ उनले भनिन् । कविताले मुनाराजको पहिचान झल्काउने खाल्को रहेको उनले बताइन् । कवि शेर्माको दविएको मनोविज्ञान कवितामा आएको उनले बताइन् । शब्दहरुको याक्सामा ५१ व्टा कविताहरु संग्रहित छन् । ती कविताहरु मध्ये केही कविताहरु वचन गर्दै कवि शेर्माले भावना, बस्तुहरुले छोए अनुसार आफ्नो चेतनाले भ्याएसम्मका कविताहरु लेखिएको बताए । उनको कविता लामो भएको सन्दर्भ कोट्याउँदै सहजकर्ताका रुपमा रहेका कवि हेमन यात्रीले कविता लामो भएकाले बोझिलो भएको तर्क गरे । उक्त तर्कमा कवि शेर्माले कविता लामो भएको आरोप खेप्दै आएको भए पनि कविता लामो भएर पनि बाँधेर राख्ने बताए । उनले भने, ‘एउटा कविले धेरै जीवन बाँचेको हुन्छ । राजनीति, आर्थिक, साँस्कृतिक, प्रेमिल अवस्थाबाट गुज्रेको हुन्छ । म तर्कवाद नै लेख्ने कवि हो । त्यसको मतलव प्रेम कविता, पहिचानको कविता, बैचारिक कविता, पहाडजस्तो कविता पनि लेख्न सक्छु ।’ पाठकका रुपमा कृष्ण बरालले कविता बैचारिक रहेको र प्राविधिक हिसावले हेर्दा, पड्दा नराम्रा लाग्न सक्छन् । तर, भावसँग अर्थ खुल्दै जाने बताए । ‘लयमा वाचन गर्ने कविहरुले पढ्ने हो भने भावसँग अर्थ खुल्दै जाने खाल्का छन् ।’ उनले भने । विमल स्मृतिले मासिक रुपमा एउटा कविता संग्रहमाथि ‘पोयट्री पार्टी’ गर्दै आइरहेको छ । जस अन्तर्गत यो दोस्रो संस्करण हो ।