काठमाडौं : गएको दशैंका बेला राजपा लगायत विभिन्न पार्टीका मधेसी नेताहरु सम्मिलित स्वतन्त्र राजनीतिक समूहले प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर  प्रतिस्पर्धा गर्ने गरी नेकपा एमालेसँग समझदारी गरे। एमाले र उनीहरुबीचको समझदारीमा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि स्वतन्त्र हैसियत रहने उल्लेख थियो।

यसरी एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने समझदारी गर्नेमा राजपाबाट असन्तुष्ट अध्यक्ष मण्डलका सदस्य हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदिश सुक्ल थिए। उनीहरुमध्ये नवलपरासी पश्चि क्षेत्र नम्बर १ बाट हृदयेश त्रिपाठी र कपिलवस्तु–२ बाट वृजेशकुमार गुप्ता विजयी भए भने बाँके २ बाट पशुपतिदयाल मिश्र र कपिलवस्तु–३ बाट ईश्वरदयाल मिश्र भने पराजित भए। शुक्लले भने चुनावमा प्रतिस्पर्धा नै गरेनन्।

त्रिपाठी तत्कालिन नेपाल सद्भावना पार्टीबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा नवलपरासी क्षेत्र नम्बर ६ बाट विजयी भएका थिए। तर २०७० सालको चुनावमा भने उनी त्यही क्षेत्रबाट पराजित भए। तत्कालीन तमलोपाका उपाध्यक्ष तथा संसदीय दलको उपनेता समेत रहेका त्रिपाठी ६ वटा मधेसकेन्द्रित दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको सदस्य समेत बने।

दोस्रो चरणको स्थानीय तह निर्वाचन राजपाले बहिस्कार गर्ने रणनीति बनाएपछि असन्तुष्ट बनेका त्रिपाठीले केही कार्यकर्ता सहित पार्टी परित्याग गरे। उनले स्वतन्त्र राजनीतिक समूहसमेत गठन गरे। प्रतिनिधिसभा निर्वाचनमा भने एमालेसँग दुई बुँदे सहमति गर्दै सूर्य चिह्नमा आफ्ना ४ जना उम्मेदवारसँगै चुनाव लड्ने निर्णय गरेका त्रिपाठी प्रतिनिधिसभा सदस्यमा निर्वाचितसमेत भए।

२०५६ सालपछिका निर्वाचनमा लगातार विजयी हुँदै आएका वृजेशकुमार गुप्ता यसपटक पनि विजयी भए। गुप्ताले पनि चुनावअघिमात्र राजपा परित्याग गरी एमालेको चुनाव चिन्हमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका गुप्ताले एमालेसँग एकता गर्न सक्ने संकेत गरे। थाहाखबरसँगको कुराकानीमा उनले भने,‘हामी एक कदम अघि बढिसकेका छौं। अब उहाँहरु पनि एक कदम अघि बढ्नुपर्‍यो। त्यस्तो भयो भने हामी एमालेमा जान पनि सक्छौं।’

उनले एमालेसँग चुनाव चिन्ह लिने समयमा भएको सहमति कार्यान्वयन भएमा एमालेको निर्देशन अनुसार चल्ने बताए। ‘हामीले त्यसबेला दुई बुँदे सहमति गरेका थियौं। यदि त्यो सहमति कार्यान्वयन भएन भने हामी स्वतन्त्र तरिकाले अघि बढ्छौं। सहमति कार्यान्वयन भयो भने एमालेको ह्वीप अनुसार नै चल्छौं’ गुप्ताले भने।

स्वतन्त्र राजनीतिक समूह र एमालेबीच भएको सहमतिको दोस्रो बुँदामा तराई मधेसका जनतालाई शोषण, उत्पीडन विभेद असमानबाट मुक्त गरेर न्याय समानता र समृद्धि सुनिश्चित गर्नुपर्ने, संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकता अनुसार परिमार्जन र विकास गर्दै जानुपर्ने उल्लेख छ।

यस अनुसार गुप्ताको भनाइले एमाले संविधान संशोधनका लागि तयार भए एकता हुनसक्ने सम्भावना रहेको पुष्टी गर्छ।   यता, एमाले पनि आफ्नो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा चुनावमा प्रतिस्पर्धा गरेका र चुनावमा विजयी नै भइसकेका सांसदलाई पार्टीमा नै ल्याउने प्रयासमा छ। यी स्वतन्त्र दुईलाई जोड्दा देशभरी प्रत्यक्षतर्फ एमालेले चुनाव जितेको सिट संख्या ८० पुगेको छ। यदि उनीहरु स्वतन्त्र हैसियतमा रहेमा एमालेले जितेको सिट संख्या ७८ मात्रै हुनेछ।

एमाले सचिव प्रदीप ज्ञावालीले उक्त स्वतन्त्र राजनीतिक समूहलाई पार्टीमा ल्याउनका लागि वार्ता गर्ने बताए। अहिले पनि त्रिपाठी र गुप्ता कानुनी हिसाबले एमालेकै संसदीय दलमा रहेको भन्दै ज्ञवालीले भने 'उहाँहरु हाम्रै दलको सांसदमा गणना हुनुहुन्छ। उहाँहरुसँग भएको सहमति अनुसार केही निणर्यहरुमा उहाँहरुले हामै ह्वीप अनुसार अघि बढ्नुपर्छ।’