एजेन्सी । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा लिडर बार्सिलोनासँगको अंक दूरी ३ मा झारेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा एलाभेसलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई पछि पारेको तथा बार्सिलोनामाथि दबाब बढाएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडलाई जिताउन फर्नान्डो टोरेसले ७४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । टोरेसले यो सिजन ला लिगामा पहिलो गोल गरेका हुन् ।

राति नै भएको खेलमा एइबरसँग २–१ ले पराजित भएको भ्यालेन्सिया भने तेस्रो स्थानमा झरेको छ । उसको १६ खेलबाट ३४ अंक भएको छ । दोस्रो स्थानमा उक्लिएको एथ्लेटिको मड्रिडको समान १६ खेलबाट ३६ अंक भएको छ । एक खेल कम खेलको शीर्ष स्थानको बार्सिलोनाको ३९ तथा चौथो स्थानको रियल मड्रिडको ३१ अंक भएको छ । राति नै भएको अर्को खेलमा रियल सोसिडाड र एथ्लेटिको बिल्बोओले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।