शनिश्चरे/ मोरङको सुन्दरहरैंचास्थित गोठगाउँलाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गदै राज्यलाई दवाव दिन नगर क्षेत्रमा वृहत शान्ति मोटरसाइकल र्याली निकालिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेश नम्बर १ को कार्यालयका लागि गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय क्षेत्र उपयुक्त हुने सुझाव दिएपछि स्थानीयले सो कुराको यथार्थ कार्यान्यनका लागि दवावमुलक कार्यक्रम थाल्ने क्रममा शनिवार मोटरसाइकल र्याली निकालेका हुन् ।

नगरको गोठगाउँस्थित ८ सय ५ बिगाह क्षेत्रफल रहेको पूर्वाञ्चल विश्वविद्यालयको जग्गा, उपयोग नभएका भवन तथा  प्रशस्त भौतिक पूर्वाधार बिधमान रहनुका साथै पर्यावरणीय हिसावले समेत त्यहाँ राजधानी हुनु सान्र्दभिक भएको मोटरसाइकल ¥यालीका  सहभागिहरुले बताएका छन् ।

सहरी कोलाहाल, धुवा, धुलोमुक्त तथा धेरै जिल्लाको लागि आवागमनमा सहज, भौतिक पूर्वाधार, सुरक्षा, लोक राजमार्गले छोएको तथा अन्तराष्ट्रिय सिमानाबाट ३० किलोमिटरको दुरीमा रहेको सो ठाउँमा प्रदेशको राजधानीका लागि स्थानीयको माग रहेको इन्द्रपुर जेसीजका अध्यक्ष शारदाप्रसाद ढकालले उल्लेख गरे । सोही माग वमोजिम विभिन्न संघ संस्थाको सहभागितामा मोटरसाइकल र्याली निकालेर सरकारको ध्यानाकर्षण गराइएको उनले जनाए ।

नगरको विराटचौकबाट शुरु भएको ¥याली सुनसरीको इटहरीचोक परिक्रमा गरेर खोर्सानेमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईले गोठगाउँमा प्रसस्त जग्गा र अलपत्र अवस्थामा रहेका भवन क्षेत्रमा राजधानी बनाउन सबैले आआफनु ठाउंबाट पहल गर्नुपर्ने उल्लेख गरे । उनले सोलुदेखि इलामका जनतालाई पायक पर्ने स्थलको रुपमा रहेको गोठगाउँ वातावरणीय रुपमा पनि उपयुक्त रहेकोले गोठगाउँलाई राजधानी तोक्न जरुरी रहेको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको जग्गामध्ये केही भाग उपयोग गर्दै  प्रदेश नं. १ को राजधानीका लागि उपर्युक्त हुने भएकाले यसका लागि नगरपालिका कार्यालयले पहल अघि बढाएको नगरप्रमुख शिवप्रसाद ढकालले बताएका छन् । गत कार्तिक २८ गते सम्पन्न सुन्दरहरैंचा नगरपालिकाको नगरसभाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालय रहेको स्थानमा १ नम्बर प्रदेशको राजधानी वनाउने कुरा समेत निर्णय गरेको थियो । नगरपालिकाले सम्बन्धित मन्त्रालयमा समेत सो ठाउँ राजधानी हुन उपयुक्त हुने आधारहरु पेश गर्दै एक प्रकारको माग गरेको थियो ।

मोरङ क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य राजकुमार ओझा भन्छन् ‘यो ठाउँ हरेक हिसावले उपयुक्त ठाउँ भएकाले यहाँ स्थायी रुपकै राजधानी बनाउने कुरामा मेरो लविङ जारी छ ।’– उनले भने । वाम गठवन्धनका तर्फबाट नेकपा एमालेबाट आफ्नो उम्मेदवारीपछि ओझाले गोठगाउँलाई प्रदेशको राजधानी वनाउन आफ्नो पहल रहने कुरा राख्दै भोट मागेका थिए । उनले अस्तव्यस्त बनेको पूर्वाञ्चल विश्वविद्यालयलाई व्यवस्थित गर्दै एमवीवीएससम्मको पढाई सुरु गर्न समेत आफुले पहल गर्ने वचन दिएका थिए ।

मन्त्रीपरिषदले सातैवटा प्रदेशको सचिवालय रहने सम्भाव्यतास्थलको पहिचान गर्नेक्रममा १ नम्वर प्रदेशको लागि गोठगाउँ उपयुक्त हुने सुझाव विज्ञ समितिले पेशपछि स्थानीय स्तरमा चासो बढेको हो । गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको खाली जग्गा र भवनहरु उपयुक्त रहेको भन्दै स्थानीय राजनीतिक दलका नेताहरु प्रदेश राजधानी बनाउन लागि परेका छन् ।