सुनसरी (बक्लौरी)/झट्ट हेर्दा रामधुनी–७ चौसठ्ठीविगाहाका शशीकुमार वान्तवा राईलाई कृषक जस्तो देखिदैन । र, उनी गाउँका आममानिस झै कृषिकर्म पनि गर्र्दैनन् । [caption id="attachment_65073" align="alignnone" width="1306"] तस्बिरः भाेजराज[/caption] तर, उनी व्यवसायिक कृषक हुन् । उनको कृषिकर्म तरकारी खेती, बाख्रा, कुखुरा, गाईभैसी, बंगुर पालन भने गर्दैनन् । उनी माछा पालक कृषक हुन् । जग्गा लिजमा लिएर माछा पालन गर्दै आएका राई २०६२ सालदेखि व्यवसायिक माछापालकमा गनिन्छन् । रामधुनी–७ रानीपोखरीमा ६३ कठ्ठाको पोखरी लिजमा लिएर माछा पालन गरेका छन् । उनको बराह नगरपालिका–११ मधुवनमा पनि १० विगाहामा फैलिएको पोखरी लिजमा लिएका छन् । त्यसैबाट उनी वार्षिक १० लाख रुपैया कमाउँछन् । दुईवटै पोखरीमा एक एक जना कर्मचारी राखेका छन् । वार्षिक रुपमा माछा निकाल्ने भएकाले उनी कहिलेकाही मात्रै पोखरीहरु निरीक्षणका लागि पुग्छन् । उनको पोखरीमा रहुँ, नैनी, सिल्भर विगेट, तिलिपिया, कमलकार, ग्रासकार लगाएका छन् । त्यही पोखरी नै ९ जनाको परिवार धान्ने मेलो बनेको छ । एउटा पोखरीमा ३० देखि ४० क्वीन्टल माछा उत्पादन हुन्छ । स्थानीय बजार मै बेच्न नपुग्ने उनको तर्क छ । ‘माछाको बजार प्रसस्तै छ । मेरो माछा झुम्का जान्छ ।’ उनी भन्छन् । माछा पालनमा दुःख कम हुने भएकाले पनि माछा पालन गरेको बताउँछन् । ‘म पनि अल्छे र अल्छे व्यावसाय नै गरेको छु ।’ उनी थप्छन् । २०५५ सालदेखि नै माछा पाल्न थालेका हुन् । तर, त्यो बेला शौखको रुपमा मात्रै माछा पालन गरेका थिए । अग्रज दाई नुनिहाङ राईले शौखको रुपमा माछा पालेको देखेर उनकै प्रेरणाले माछा पालन शुरु गरेको उनी बताउँछन् । तर, ०६२ सालदेखि मात्रै व्यवसायिक बनेको उनी बताउँछन् । २०५५ मा आइडी किनेर हङकङ गएका उनी ०५७ सालसम्म हङकङमै बिताए । आइडी गलत परेका कारण उनी फर्किए । त्यसपछि पुनः २०६७ सालमा गए । दुईवर्ष फेरि बिताए । त्यो बीचमा ७ लाख रुपैया जति डुबेको उनी सुनाउँछन् । त्यसयताबाट माछापालनलाई निरन्तरता दिइरहेका उनी माछा पालनलाई नै निरन्तरता दिइरहेका छन् । यो व्यवसायलाई अझै बढाउने सोच राखेका छन् । ‘मोरङको बेलबारीमा जग्गा लिजमा लिएर उता पनि शुरु गरौं भन्ने लागेको छ ।’ उनी भन्छन् । उनका अनुसार माछामा उत्पादन पनि राम्रो हुने र अन्य व्यवसाय जस्तो दुःख नर्गनु पर्ने भएको बताउँछन् । उनले भारतबाट माछा नआउने हो भने नेपालको माछाले भाउ पाउने बताए । ‘माछामा आत्मनिर्भर हुन सजिलो छ । अलिकती भारतको माछा आएर समस्या हुन्छ ।’ भारतको माछा नेपालको भन्दा सस्तो हुने कारण कृषकहरुलाई समस्या हुने गरेको उनी बताउँछन् । ‘यहाँ १ वर्षमा हुने माछा उहाँ तीन महिनामा हुन्छ ।’ उनी भन्छन्, ‘माछालाई गर्मी चाहिन्छ । यहाँ त्यो टेम्पेरेचर पुग्दैन ।’ सरकारले माछा सेक्टरमा लगानी गर्ने हो भने माछापालक कृषकहरुलाई फाइदा पुग्ने उनले बताए । जिल्लाले सुनसरीको मधुवन क्षेत्रलाई माछा पकेट क्षेत्र तोकेको छ । अहिले उनले जिल्ला कृषि कार्यालय सुनसरीबाट २०७२÷०७३ सालमा ९ लाख रुपैया अनुदानसमेत पाए । माछा पालकहरुको लागि सरकारले भारतको माछामा अंकुस लगाइदिने हो भने मात्रै कृषकहरु फाइदामा जाने बताउँछन् ।