शनिश्चरे । शनिबार र बिदाका पनि सरकारी कार्यालय खुल्छ भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, झापाको शिवसताक्षी नगरपालिका कार्यालय शनिबार पनि खोलेर कर्मचारीले सेवाग्राहीको काम गरिरहेका हुन्छन् ।

कतिपय कार्यालय समयमा समेत आलेटाले गरेर समय कटाउने परिपाटी देखिने गरेको अवस्थामा शिवसताक्षीका कर्मचारीको अतिरिक्त समयको काम उदाहरणीय बनको छ । कामको भार बढी भएको र कर्मचारीको स ंख्या कम भएपछि नगरपालिकाका इन्जिनियर महेश भण्डारी, कार्यक्रम अधिकृत महेश लामिछाने र जिन्सी स्टोर प्रमुख दीपक तामाङ शनिबार तथा अन्य विदाका दिनमा पनि कार्यालयमा नियमित काम गरिरहेको भेटिन्छन् । विदाको दिन त सेवाग्राही आफ्नो काम गराउन कार्यालय आउँदैनन् । तर कर्मचारीले कार्यालय समयमा नभ्याएका काम विदाको समयमा भ्याउन यसो गरेका हुन् ।

नगरपालिकामा इन्जिनियरले योजना छनोट, योजना तयार, योजनाको डिजाईन स्टीमेट, अनुगमन लगायतका काम गर्नुपर्ने हुन्छ । ‘अझ सहायक इन्जिनियर नहुँदा कामको चाप बढेको हो ।’– इन्जिनियर भण्डारीले भने ‘जसका कारण आफुहरु ३ जना कर्मचारी शनिवार पनि विहानैदेखि कार्यालयमा आएर खटिने गरेका छौं ।’

इन्जिनियर भण्डारी गत शनिवार वडा नम्बर २ को २५ वटा योजनाको निरीक्षण गरेर राती ७ बजेमात्र घर पुग्न भ्याएका थिए । शुक्रबारै योजनाको स्टीमेट, डिजाईन गर्न समय नपुगेकाले शनिबार कार्यलयमा ती योजनाको काम गरेको बताए । ‘वडाकै काम गर्न भ्याई नभ्याई भएकाले नगर योजनाका काम त छुनै पाइएको छैन । ’ उनले कामको चाप दर्शाए । विधागत कर्मचारीको जनशक्ति अभाव कै कारण कामको बढी चाप भएकाले नगरका कर्मचारीहरु विदा समेत वस्न पाएका छैनन् ।

कार्यक्रम अधिकृत लामिछानेलाई सामाजिक सुरक्षाको कार्यक्रमले पनि झन भ्याईनभ्याई बनाएको छ । कार्यालय खुल्ला हुने दिन र कार्यालय समयमा नभ्याईएका काम बिहान, बेलुका र बिदाको दिन गर्ने गरेको उनले वेलिविस्तार लगाए ।

सो नगरपालिकाका अर्का कर्मचारी स्टोर प्रमुख तामाङ शनिबार समेत उसैगरी कार्यालयमा व्यस्त भेटिन्छन् ।

नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृत पंकज भूर्तेल पनि विदाको दिन आफु समेत बेलाबखत कार्यालयको काम गर्न आउने गरेको बताउँछन् । लेखा अधिकृत भीम खवासको पनि दिनचर्चा उस्तै रहने गरेको छ । कर्मचारीमध्येमा पनि प्राविधिकतर्फका कर्मचारीको संख्या कम भएकाले विदाको दिन काम गर्नुपर्ने वाध्यता परेको उनले सुनाए ।

कार्यालयमा अतिरित्त समय काम गरेवापत कर्मचारीहरुले पारिश्रमिक दिने व्यवस्था समेत गर्न नसकिएको कार्यकारी अधिकृत भूर्तेलले उल्लेख गरे । उनले नगरपालिका वनेयता विगत ५ महिनादेखि यसखाले अतिरिक्त काम गरिरहनु परेको वताए । नत्र कामकारवाही नै रोकिने हुँदा यसो गर्र्न वाध्य भयौं ।’– उनले अवस्था दर्शाए । त्यहाँ कार्यालय सहयोगी, चालक समेत गरी कर्मचारीको संख्या २१ रहेको छ । सो नगरपालिकामा एकजना मात्र कार्यक्रम अधिकृत, ओभरसियर, सवओभरसियर नभई मात्र २ जना इन्जिनियर मात्र छन् । त्यहाँ कम्प्युटर अपरेटर नै नभएको अवस्था छ । सरकारी अनुदानमा नयाँ कार्यालय भवन वनेर नयाँ भवनमा सरेपनि कर्मचारी संख्याको अभावमा काम गर्न कठिनाई भएको र वारम्बार माथिल्लो निकायमा समस्या दर्शाइरहेको प्रमुख प्रसाशकीय अधिकृत भूर्तेलले वताए । उनले ग्रामिण क्षेत्रको र पछिल्लो समय नगरपालिका वनेका अन्यत्रका नगरपालिका कार्यालयमा आफ्नो जस्तो कर्मचारी समस्या हुनसक्ने समेत दर्शाए ।

शिवसताक्षीका सामाजिक अगुवा रतन आचार्यले शिवसताक्षी नगरपालिका कार्यालयका कर्मचारीबाट जिल्लाका अन्य सरकारी तथा गैह्र सरकारी कार्यालयका कर्मचारीले पाठ सिक्नुपर्ने बताए । उनले भने ‘सेवाग्राहीको कामप्रतिको चिन्ता यी कर्मचारीमा देखियो ।’