एकै मितिमा एकभन्दा बढी फिल्मको लडाइँ हुनु नेपाली फिल्म क्षेत्रका लागि साधारण भइसकेको छ । तर, यस वर्षको फागुन ११ गते भने निकै रोचक भिडन्त हुँदैछ । रोचक यस अर्थमा कि यो मितिमा व्वाईफ्रेण्ड र गर्लफ्रेण्ड आफ्नो फिल्म लिएर मैदानमा उत्रिँदैछन् ।

हामी कुरा गर्दैछौं नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठको । फागुन ११ गते सौगातको 'पञ्चेबाजा' र सृष्टिको 'रोमियो एण्ड मुना' प्रदर्शनमा आउँदैछ । गएको वर्षदेखि प्रेममा रहेका सौगात र सृष्टिको भिडन्तको खबरले यतिबेला सिनेवृत तरंगीत बनेको छ । यस्तो घट्ना नेपाली फिल्म क्षेत्रमा विरलै देख्न पाइन्छ ।

धेरै सुपरस्टारका फिल्मसँग एकै मितिमा लडाइँ गरेपनि सौगात पहिलो पटक आफ्नै गर्लफ्रेण्डसँग बक्स अफिसमा भिड्दैछन् । केहीदिन अगाडि 'पञ्चेबाजा' र 'रोमियो एण्ड मुना'को गीत पनि एकैदिन सार्वजनिक गरिएको थियो ।

भर्खरै झाँगिदै गएको प्रेममा सोप्निल संसारको कल्पना गरेको यो जोडीलाई एकै मितिमा जुधेको हेर्न चाहनेहरु कमै होलान् । तर, निर्माता-निर्माता बीचको व्यापारिक युद्धको मारमा प्रेमको बोटमा कलिला कोपिला फूलाउँदै गरेको यो प्रेमजोडीलाई भने ठूलै घाटा हुने पक्का छ ।

संयोगमात्र थियो वा सौगात र सृष्टिको लडाइँ रचिएको नै थियो त्यो समयक्रमसँगै सबै खुल्दै जाला तर यतिबेला प्रेम-प्रेमिकाको भिडन्तको खबरले दर्शकमा समेत खुलदुली बढ्दै गएको छ । यस वर्ष महिनैपिच्छे पर्दामा आइरहेका सौगात र झन्डै डेढ वर्षपछि 'रोमियो एण्ड मुना'मार्फत फिल्ममा कमब्याक गरेकी सृष्टिको यो लडाइँमा कसको पल्लाभारी होला ? चलचित्रकर्मी मात्र होइन दर्शकहरु समेत यस विषयमा बहस गर्न थालेका छन् ।

कतै यो भिडन्तले सौगात र सृष्टिको सम्बन्धमा दरार उत्पन्न हुने त होइन ? प्रश्न अनेकौ उब्जिएका छन् । यो मितिबाट यी दुई फिल्म मध्ये एक फिल्मको रिलिज पोस्टपोन्ड भए त ठिकै होला नभए पहिलो पटक नेपाली फिल्ममा प्रेमजोडीको लडाइँले ठूलै भूकम्प ल्याउनेमा शंका छैन ।