एजेन्सी/ मेक्सिकोका एक जना विद्यार्थीले स्तन (ब्रेस्ट) क्यान्सर पत्ता लगाउने ब्रा बनाएका छन् । उनले यो ब्राको नाम ‘इवा ब्रा’ राखेका छन् । १८ बर्से जुलियन रियोस सान्टुले स्तन क्यान्सर पत्ता लगाउने ब्रा बनाएका हुन् ।

उनले पहिरिने महिलालाई यो ब्राले स्तन क्यान्सरका लक्षण देखिए सतर्क गराउने दाबी गरेका छन् ।

मेक्सिकोका राष्ट्रपतिले पनि यो आविष्कारका लागि जुलियनलाई बधाई दिएका छन् ।

उनले तीनजना साथीसँग मिलेर यो ब्रा बनाएका हुन् । ब्राको प्रवद्र्धन गर्न तीनै जनाले एउटा कम्पनी पनि स्थापना गरेका छन् । तर यो ब्राको पूर्णतया परीक्षण भइसकेको छैन ।

तीनै जनाले ब्रा परीक्षणका लागि पर्याप्त रकम जम्मा गरिसकेका छन् । ब्रा आविष्कारका लागि उनीहरूलाई ‘ग्लोबल स्टुडेन्ट एन्टरप्रिनियर’ (युवा उद्योगपति) बाट पुरस्कृत गरिएको छ ।

उनीहरूको हिजा टेक्नोलजीले विश्वका अन्य सयौं युवा उद्यमीका कम्पनीलाई उछिनेर युवा उद्योगपतिवापतको २० हजार अमेरिकी डलरको पुरस्कार जितेका हुन् ।

क्यान्सरयुक्त ट्युमरमा रगतको प्रवाह बढ्दा छालाको तापक्रम बढ्छ । यो ब्रामा जडित बायोसेन्सरले छालाको तापक्रम नाप्छ र एउटा एपसँग सम्पर्क गर्छ । एपले गरेको विश्लेषणपछि ब्राले छालामा भएको परिवर्तनको जानकारी पहिरिने महिलालाई दिन्छ ।

तर यसबाट जानकारी पाउनका लागि एक सातामा यो ब्रा कम्तीमा पनि ६० देखि ८० घन्टा लगाउनु पर्छ । यसो गरेमात्र यसले सटीक जानकारी दिन्छ ।

गत वर्ष एउटा अन्तर्वार्तामा जुलियनले ब्रामा जडित सेन्सरले स्तनको आकार र स्थिति समान भए नभएको पनि हरहमेसा मापन गर्ने बताएका थिए ।

सुरुवाती अवस्थामै भएकाले यसको पूर्ण परीक्षण भइसकेको छैन । मेडिकल साइन्सले पनि यसलाई प्रमाणित गर्न बाँकी छ । मेडिकली प्रमाणित भएपछि क्यान्सर विशेषज्ञहरूले यो ब्रा प्रयोग गर्न सिफारिस गर्नेछन् ।

बेलायती क्यान्सर अनुसन्धानकर्ता आना पेर्मनले भनिन्, ‘हामीलाई थाहा छ, अधिकांश ट्युमरमा रक्तनलीहरू अव्यवस्थित हुन्छन् । तर रक्त प्रवाह बढ्नु क्यान्सरको लक्षण नै हो भन्ने कुनै आवश्यक छैन ।’

उनका अनुसार तत्काल यो ब्राले स्तन क्यान्सरका ट्युमर पत्ता लगाउने प्रमाणित भइसकेको छैन । र, कुनै वैज्ञानिक परीक्षणबिनै यो ब्रा लगाउन महिलालाई सुझाव दिन सकिँदैन । हो, जुलियनजस्ता युवाहरू स्तन क्यान्सरबारे जागरुक हुनु उत्साहप्रद छ । उनले यो ब्राको मेडिकल परीक्षण हुन बाँकी रहेको बताइन् । उनका अनुसार यस्ता खोजले बिरामीलाई फाइदा हुनेछ ।

स्तन क्यान्सरका लक्षण –    स्तनमा गिर्खा (गाँठा) आउनु –    स्तनको आकार र स्वरुपमा परिवर्तन हुनु –    निपलबाट तरल पदार्थ निस्कनु (दूध होइन) –    छाति दुख्नु

आनाले भनिन्, ‘सुरुवाती अवस्थामै स्तन क्यान्सर पत्ता लागे रोग निको हुने सम्भावना धेरै हुन्छ । यस्तो बेला यो प्रारम्भिक चरणमा छ वा छैन थाहा पाउनु महत्वपूर्ण हुन्छ । असामान्य लागे तत्काल सतर्क हुनुपर्छ ।’

जुलियन १३ वर्षका हुँदा उनलाई यस्तो ब्रा विकास गर्ने विचार मनमा आएको थियो । उनकी आमाको निधन स्तन क्यान्सरबाट भएको थियो । क्यान्सर लाग्नासाथ वा सुरुमै रोग लागेको थाहा पाएको भए उनकी आमाले बेलैमा उपचार पाउँथिन् र बाँच्न सक्थिन् ।