काठमाडौं /  चोरी गर्ने उद्देश्यले नै भारतको बिहारबाट काठमाडौं आएको एक पेशेवर चोरको समूहलाई प्रहरीले शनिबार पक्राउ गर्‍यो। चोरी गरेका केही सामान समेत बरामद गरेको छ। तर, उनीहरुले कहाँ–कहाँ चोरी गरे भन्ने पत्ता लगाउन नसक्दा प्रहरी समस्यामा परेको छ।

‘चल्ला समूह’ भनिने बिहारको समस्तीपुर घर भएका ६ जना भारतीयको समूहलाई अपराध महाशाखाले सिनामंगलबाट पक्राउ गरेको हो। उपत्यकामा कवाडीका सामान संकलन गर्ने बहाना बनाई घरमा कोही नभएको मौकामा घरका ढोका तथा झ्याल फोडेर उनीहरुले चोरी गर्ने प्रहरीले जनाएको छ।

प्रहरीले विभिन्न ब्रान्डका मोबाइल ४ थान, विभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद गरे पनि पीडित पत्ता लगाउन नसक्दा उनीहरुमाथि चोरी मुद्दा चलाउन सकेको छैन।

पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मजम्फपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय विकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी छन्।

अभियुक्तहरुमध्ये मुकेशकुमार ०७३ बैशाख ८ गते चोरी मुद्दामा ९३ हजार रुपैयाँ धरौटीमा तथा राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्दामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका महाशाखाले जनाएको छ।

भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने गर्छन्। घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रवेश गर्ने, कवाडी टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एक जनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा–जमिन किनेर घर बनाउने गरेको प्रहरीले जनाएको छ।

चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०/१२ वर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको सो महाशाखाले जनाएको छ। उनीहरुसँगै आएका पाँच जनाको समूह भागेको र उनीहरुले चोरीको ७/७ लाख रुपैयाँ लगेको समेत अनुसन्धानमा खुलेको छ।