लहान/ बाढीपीडितका लागि आएको राहत वितरणमा वडा अध्यक्षले विथाेल्ने प्रयास गरेको भन्दै सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–४ कोइलाडीका बाढी पीडित वडा कार्यालयमा तालाबन्दी गरेका छन्। आफूहरूलाई आएको आएको राहत वितरण विथाेल्ने प्रयास गरेको भन्दै वडा अध्यक्ष नागेश्वर मण्डल विरूद्ध स्थानीयहरूले कार्यालयमा तालाबन्दी गरेका हुन्। पछिल्लो साउनको अन्तिम हप्ता आएको भिषण वर्षात् र बाढीपछि वडा कार्यालयको सिफारिस अनुसार नगरपालिका कार्यालयले प्रमाणित गरेपछि रेडक्रसले राहत वितरण गर्दा प्रभावितहरू छुटेकाले तालाबन्दी गरिएको स्थानीय पीडितहरूको भनाई छ। वडाध्यक्ष मण्डलले जथाभावी नाम सिफारिस गर्दा कतिपय घरका बाढीपीडित छुटेका छन् भने कतिपय घरबाट चार जनासम्म परेका बाढीपीडित हरेराम सिंहले बताए। सिफारिस गरिएको नामावली अनुसार धेरै बाढीपीडितले राहत नपाउने भएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको सिंहले बताए। नामावलीमा छुटेका बाढी पीडितहरूले आइतबार अपरान्ह सदरमुकाम राजविराजस्थित रेडक्रस कार्यालय समेत घेराउ गरेका थिए । सप्तरीमा प्लान नेपाल र विश्व खाद्य कार्यक्रमको सहयोगमा बाढीपीडितहरूलाई नगरपालिका र गाउँपालिकाको सिफारिसको आधारमा राहत वितरण गरिरहेको थियो। प्लानले जिल्लाका दुई हजार ९ सय परिवारका लागि प्रति परिवार दुई थान म्याट, दुई थान त्रिपाल, एक थान ब्ल्याङ्केट र एक किलो डोरी तथा विश्व खाद्य कार्यक्रमले रम्पुरा मलहनियाँ, मैनाकडेरी, लौनियाँ, सकरपुरा, कोईलाडी र तिलाठीका गरि करिब छ हजार ५ सय परिवारका लागि प्रतिपरिवार पाँच हजार दुई सय नगद उपलब्ध गराएको रेडक्रसले जनाएको छ ।