शनिश्चरे/प्रदेश नम्बर १ को राजधानी आफ्नो क्षेत्रतिर तान्ने यसबेला होडवाजी छ । मुलुक संघीयतामा जाने निर्णयसँगै पूर्वी क्षेत्रका प्रमुख सहरलाई भावी राजधानीका रुपमा प्रस्तुत गर्दै नागरिकस्तरबाटै चलाइएको अभियानमा भर्खरै निर्वाचित सांसदहरुले अगुवाई गरिरहेका छन् ।

आआफ्नो अनुकुल आ-आफ्नै ठाउँमा प्रदेश राजधानी वनाउन दैनिक आन्दोलन नै अगाडि बढेको छ । यस क्रममा मोरङको सुन्दरहरैंचास्थित गोठगाउँ, विराटनगर, सुनसरीको इटहरी र धरानका साथै पहिलेको पूर्वाञ्चल सदरमुकाम धनकुटा क्षेत्रलाई राजधानी वनाउन स्थानीय अन्दोलित बनेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रदेश नम्बर १ को कार्यालयका लागि गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय क्षेत्र वा इटहरीको तरहरास्थित कृषि फारम क्षेत्र तत्काललाई कार्यालय राख्न उपयुक्त हुने सुझाव दिएपछि पछिल्लोपटक गोठगाउँले समेत चर्चा पाएको छ ।

सरकारले प्रदेश राजधानीका लागि इटहरी, धरान, विराटनगर र धनकुटाको भौतिक पूर्वाधारको अवस्थाबारे पनि समितिले अध्ययन गरी प्रतिवेदन पठाएको छ । त्यसक्रममा गोठगाउँलाई समेत अस्थायी राजधानीका रुपमा उपयुक्त हुने प्रतिवेदन समेत पठाइएकाले पछिल्लो समय गोटगाउँ स्थायी राजधानी नै तोकिनु पर्ने भन्दै स्थानीय आन्दोलित छन् ।

नगरको गोठगाउँस्थित ८ सय ५ बिगाह क्षेत्रफल रहेको पूर्वाञ्चल विश्वविद्यालयको जग्गा, उपयोग नभएका ९ वटा भवन तथा प्रशस्त भौतिक पूर्वाधार बिधमान रहनुका साथै पर्यावरणीय हिसावले समेत त्यहाँ राजधानी हुनु सान्र्दभिक भएको भन्दै नगरका विभिन्न संघ संस्थाको अगुवाईमा शुक्रवार मोटरसाइकल र्याली निकालेर सरकारलाई दवाव सिर्जना गर्ने क्रम थालेका छन् ।

सहरी कोलाहाल, धुवा, धुलोमुक्त तथा धेरै जिल्लाको लागि आवागमनमा सहज, भौतिक पूर्वाधार, सुरक्षा, लोक राजमार्गले छोएको तथा अन्तराष्ट्रिय सिमानाबाट ३० किलोमिटरको दुरीमा रहेको सो ठाउँमा प्रदेशको राजधानीका लागि स्थानीयको माग रहेको इन्द्रपुर जेसीजका अध्यक्ष शारदाप्रसाद ढकालले उल्लेख गरे ।

मोरङका १७ स्थानीय तहमध्ये बहुमत संख्याले गोठगाउँलाई राजधानी वनाउन उपयुक्त हुने बताएका छन् । ग्रामिण क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने हिसावले गोठगाउँ उपयुक्त हुने जिल्लाका वहुमत नगरपालिका र गाउँपालिकाका प्रमुखहरुको राय रहेको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले जनाए । पथरीशनिश्चरेका साथै उर्लाबारी, लेटाङ, बेलबारी, सुन्दरहरैंचा नगरपालिका तथा मिक्लाजुङ, कानेपोखरी, ग्रामथान र केरावारी गाउँपालिका सो कुरामा सहमत भएको देखिन्छ । आइतवार विराटचोकमा ती क्षेत्रका जनप्रतिनिधिहरुको वैठकले सोही अनुरुपको माग हस्ताक्षर सहित सुन्दरहरैंचा नगरपालिकामार्फत सरकारलाई बुझाइएको छ ।

उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईले गोठगाउँमा प्रसस्त जग्गा र अलपत्र अवस्थामा रहेका भवन क्षेत्रमा राजधानी बनाउन सबैले आआफनु ठाउंबाट पहल गर्नुपर्ने जनाए । उनले सोलुदेखि इलामका जनतालाई पायक पर्ने स्थलको रुपमा रहेको गोठगाउँ वातावरणीय रुपमा पनि उपयुक्त रहेकोले गोठगाउँलाई राजधानी तोक्न जरुरी रहेको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको जग्गामध्ये केही भाग उपयोग गर्दै प्रदेश नं. १ को राजधानीका लागि उपर्युक्त हुने भएकाले यसका लागि नगरपालिका कार्यालयले पहल अघि बढाएको नगरप्रमुख शिवप्रसाद ढकालले बताएका छन् । गत कार्तिक २८ गते सम्पन्न सुन्दरहरैंचा नगरपालिकाको नगरसभाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गोठगाउँको पूर्वाञ्चल विश्वविद्यालय रहेको स्थानमा १ नम्बर प्रदेशको राजधानी वनाउने कुरा समेत निर्णय गरेको थियो । नगरपालिकाले सम्बन्धित मन्त्रालयमा समेत सो ठाउँ राजधानी हुन उपयुक्त हुने आधारहरु पेश गर्दै एक प्रकारको माग गरेको थियो ।

मोरङ क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य राजकुमार ओझाले गोठगाउँ वा तरहरा कृषि फारमलाई तत्काल प्रदेशको कार्यालय वनाउन उपयुक्त भन्दै समितिले प्रतिवेदनमा उल्लेख गरेको कुरा समिति स्रोतले आफुहरुलाई भनेको प्रष्ट्याए । उनी भन्छन् ‘त्यही आधारमा रहेर तरहरा भन्दा पनि उपयुक्त वन्दनिषेधित नगर क्षेत्रको गोठगाउँ हरेक हिसावले उपयुक्त ठाउँ भएकाले यहाँ स्थायी रुपकै राजधानी बनाउने कुरामा मेरो लविङ जारी छ ।’– उनले भने । वाम गठवन्धनका तर्फबाट नेकपा एमालेबाट आफ्नो उम्मेदवारीपछि ओझाले गोठगाउँलाई प्रदेशको राजधानी वनाउन आफ्नो पहल रहने कुरा राख्दै भोट मागेका थिए । उनले अस्तव्यस्त बनेको पूर्वाञ्चल विश्वविद्यालयलाई व्यवस्थित गर्दै एमवीवीएससम्मको पढाई सुरु गर्न समेत आफुले पहल गर्ने वचन दिएका थिए ।

भौतिक पूर्वाधारको उपयुक्त अवस्थितिसहितको दाबी गर्दै विराटनगरवासीले राजधानी आफ्नै ठाउँमा हुनुपर्ने माग गरिरहेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी विराटनगरलाई नै स्थायी राजधानी बनाउन यस क्षेत्रका बासिन्दाले माग गरेको भन्दै अन्तरराष्ट्यि विमानस्थल, औद्योगिक क्षेत्र, रंगशाला, विभिन्न सरकारी कार्यालयमा मन्त्रालय राख्न सकिने पूर्वाधार तथा मुलुककै दोस्रो ठूलो ऐहिासिक सहर सहितका आधारले विराटनगर उपयुक्त हुने जिकिर गरेका छन् ।

प्रदेश राजधानी र नाम सम्बन्धित प्रदेशको प्रदेशसभाले निर्णय गर्ने प्रावधान रहेको अवस्थामा उद्योग संगठन मोरङले विजयी सांसदका लागि आयोजना गरेको स्वागत कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले विराटनगरलाई नै राजधानी वनाउनु पर्ने जिकिर गरेका छन् । विराटनगरमा राजधानीको माग गर्दै मोरङ ४ (ख) का सांसद जीवन घिमिरे, ५ (ख) का जयराम यादव र ६ (ख) का केदार कार्कीले प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

राजधानीका लागि अन्तराष्ट्रिय सीमाभन्दा कम्तिमा ३० किलिमिटर टाढा हुने पर्ने अन्तरराष्ट्यि मान्यता छ । तर विराटनगर सिमाना भन्दा १० किलोमिटर समेत टाढा छैन । सोही कुरामा टिप्पणी गर्दै राष्ट्रिय सुरक्षा संयन्त्रहरूनिकट पहुँचको तथा बाढी डुवान, पहिरोजस्ता जोखिम कम हुने ठाउँलाई राजधानी छनोट गर्नुपर्ने इटहरीतर्फका वासिन्दाको दावी छ । यी सवै आधारका साथै चारैतिरको केन्द्रका रुपमा रहेको इटहरी नै राजधानी उपयुक्त हुने त्यताका वासिन्दाको आवाज छ ।

इटहरी नगरपालिका प्रमुख द्वारिकलाल चौधरीको संयोजकत्वको राजधानी सरोकार समाजअन्तर्गत बनेको समितिले सुविधा, बसोबास, चारैतिर जोडिएको सडक यातायात, जातीय तथा सांस्कृतिक विविधतालगायत आधारमा इटहरीलाई प्रदेश राजधानीका लागि उपयुक्त ठहर्‍याएको छ ।

सरकारद्धारा गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदनले समेत इटहरीलाई केन्द्र मानेर मोरङका लेटाङ, बेलबारी, सुन्दरहरैंचा, सुनसरीका दुहबी, इनरुवा, रामधुनी, बराह र धरानसम्मको क्षेत्रलाई पनि राजधानीभित्र समेट्न सकिने देखाएको चौधरीले उल्लेख गरेका छन् । तरहरामा रहेको कृषि तथा जडीबुटी अनुसन्धान केन्द्र, इटहरी चोकनजिकै खाद्य गोदाम, जुट विकास तथा रेशम विकास क्षेत्र, रंगशाला, झुम्कास्थित कृषि तथा बीउबिजन केन्द्र तथा अन्य सार्वजनिक ऐलानी, पर्ती, नदी उकास जग्गा पनि राजधानीका आकर्षक पूर्वाधार भएको जनाइएको छ । यसका साथै सघन औद्योगिकीकरणका लागि जमिन, जनशक्ति तथा अन्य आवश्यक वस्तु र सेवाको सहज व्यवस्था हुने, अरुण करिडोरमार्फत किमाथांका नाकाबाट सडक यातायत खुलेको अवस्थामा चीन–नेपाल–भारत तथा बंगलादेशसम्मको अन्तराष्ट्रिय व्यापारिक ट्रान्जिटका रूपमा यो क्षेत्र उपयुक्त हुने दाबी गरिएको छ ।

इटहरी र सुन्दरहरैंचा (सुकुना–गछिया) शैक्षिक केन्द्र बनेको, बराहक्षेत्र, चतरा, रामधुनी, पिण्डेश्वर, राजारानी, बूढासुब्बा, विष्णुपादुका तीर्थस्थलले धार्मिक पर्यटनलाई प्रवद्र्धन गरेको, चारकोशे झाडीमा जंगल सफारी, क्षेत्रीय रंगशाला, होटल व्यवसाय आदि पर्यटन एवं मनोरञ्जन केन्द्र बनेको प्रतिवेदनमा उल्लेख छ ।

सफा र सुन्दर सहर धरान राजधानीका लागि हरेक पक्षले उपयुक्त रहेको धरानवासीको तर्क छ ।

राजधानी वनाउने होडवाजीका क्रममा विसं १८४० सालदेखि पूर्वको प्रशासकीय केन्द्रका रूपमा रहँदै आएको धनकुटाका बासिन्दाले पनि आफ्नो थलोलाई राजधानीको दाबेदारका रूपमा प्रस्तुत गरिरहेका छन् । क्षेत्रीयस्तरका कार्यालय रहिरहेको अवस्थामा राजधानीसमेत उपयुक्त हुने भन्दै स्थानीयले राजधानी बनाउन माग अघि सारेका छन् । १६ जिल्लाको भूगोलको प्रशासनिक केन्द्र र प्रस्तावित १४ जिल्लाको केन्द्र बन्न उपयुक्त भएको भन्दै नागरिकस्तरबाट प्रदेश माग गर्दै संघर्षका कार्यक्रम सुरु भएका छन् ।

पूर्वपश्चिम मुख्य सडकबाट ७० किलोमिटर उत्तरमा पर्ने धनकुटा तराईका तीन जिल्ला र भित्री मधेसमा पर्ने उदयपुरको धनकुटा आउने मुख्य नाका पूर्वपश्चिम मुख्य सडक नै हो । ताप्लेजुङ र पाँचथर तमोर कोरिडोर, मध्यपहाडी लोकमार्गले जोडिएका छन् । इलाम राँके, रवि, भेडेटार सडकबाट जोडिएको छ । भोजपुर, खोटाङ, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् । दूधकोसीको पुल निर्माणपश्चात सोलुखुम्बु र ओखलढुंगावासीसमेत पहाडी मार्गबाट धनकुटा आउन सक्ने धनकुटावासीको तर्क छ ।

उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्षसमेत रहेका राजधानी संघर्ष समितिका संयोजक उमेश घिमिरेले धनकुटामा भएकै भौतिक संरचना कम लागतमा पुनर्निर्माण हुन सक्ने भएकाले पनि राजधानीलाई चाहिने पूर्वाधार उपयुक्त रहेको बताए ।

सुरुमा धनकुटाबाट पूर्वको केही भाग शासित थियो भने १८८५ सालदेखि यो ठाउँ पूर्वको पूर्ण केन्द्रका रूपमा रह्यो । यसलाई निरन्तरता दिँदै राणाकालीन समयमा धनकुटामा बडाहाकिम कार्यालय रहन गयो । १९४२ सालदेखि धनकुटामा पूर्वका तीन अड्डाको अपिल सुन्ने गरिन्थ्यो । धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, धनकुटा नगरपालिकाको स्वामित्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा, सहरी विकासको नामको ३ सय रोपनी र विद्युत प्राधिकरणको २ सय रोपनी जग्गा रहेको उल्लेख छ ।