दोलखा । श्रम शोषण र पारिश्रमिकमा विभेद गरिएको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका छन् । पारिश्रमिक र खानामा विभेद गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षामा खटिने म्यादीलाई ज्यामीको काम समेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सदरमुकाम चरिकोटमा सोमबार आन्दोलित बनेका म्यादीमाथि प्रहरीले लाठी चार्ज पनि गरेको छ । त्यसक्रममा म्यादी प्रहरी संगीता नेपालीसहित सातजना घाइते भएका छन् ।

घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीहरुका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ ।

खाना खुवाए वापत प्रहरी जवानहरुबाट प्रतिछाक ६० रुपैयाँ काटेको जिप्रकाले म्यादीबाट भने ९५ रुपैयाँ प्रतिछाक पैसा काटिदिएको गुनासो उनीहरुले गरेका छन् । त्यसैगरी महिला म्यादीहरुमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुको छ ।

जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई प्रखाल लगाउनेसहितका ज्यामी काम लगाएको बताइएको छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७ सय ५० जना म्यादीहरु सडकमा उत्रेका थिए ।

भेदभावविरुद्ध सडकमा उत्रेर बजार परिक्रमा गर्न खोज्दा प्रहरीले म्यादीहरुमाथि लाठीचार्ज गरेको हो । डिएसपी रामेश्वर कार्कीले वार्तामा बोलाएपछि अहिले जिप्रका परिसरमा दुईपक्षबीच वार्ता भइरहेको छ ।