उदयपुर/ १ नम्बर प्रदेशको राजधानी उदयपुर र सुनसरीको सीमा क्षेत्रमा बनाउन माग गरिएको छ। एक नम्बर प्रदेशको १४ जिल्लाको बीचमा पर्ने कोसी किनारा क्षेत्रमा बनाउन माग गरेका हुन्। उदयपुरका विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवि र पत्रकारले कोसी किनार क्षेत्रमा बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। नेकपा एमाले उदयपुरका नेता भागवत राउतले सुनसरी र उदयपुरको सीमामा पर्ने बराहा क्षेत्रको पटनालीमा राख्नुपर्ने बताए। ‘विराटनगर, धरान इटहरीको विकास प्रादेशिक राज्यको राजधानी नहुँदा पनि हुन्छ’ उनले भने, ‘सबैलाई सुविधायुक्त हुने नयाँ संरचना बनाउन जग्गासमेत भएको क्षेत्र भएकाले यस क्षेत्रमा हुनुपर्छ।’ राउतले कोसी करिडोर बनेपछि ओखलढुंगा, सोलुखुम्बु खोटाङ उदयपुर र अरुण तमोर करिडोर बनेपछि भोजपुर संखुवासभाका जिल्लालाई समेत नजिकबाट जोड्ने भएकाले उदयपुर सुनसरीको सीमा क्षेत्र उपयुक्त भएको दाबी गरे। यसैगरी, नेपाली कांग्रेसका प्रचारप्रसार विभाग उदयपुरका प्रमुख मदनराज कटुवालले धनकुटाभन्दा धरान इटहरी उपयुक्त भएको बताए। ‘राजधानी बनाइदिए कोसी किनार क्षेत्र उपयुक्त थियो,’ उनले भने, ‘उदयपुरको बेलका नगरपाकिला र सुनसरीको सीमावर्ती क्षेत्र सबैको केन्द्र पर्ने थियो।’ यता, नेकपा माओवादी केन्द्र उदयपुरका इन्चार्ज तथा पोलिटब्युरो सदस्य मोहनबहादुर खत्री दीपकले उदयपुर र सुनसरीको सीमावर्ती क्षेत्रमा हुनुपर्ने गुनासो गरे। ‘१४ वटा जिल्लाको केन्द्रविन्दुको हिसाबले उदयपुर उपयुक्त हो,’ खत्रीले भने, ‘उदयपुरको गाईघाट नहुँदा उदयपुर र सुनसरीको सीमावर्ती क्षेत्र उपयुक्त हुन्छ।’ जिल्लाका बुद्धिजीवी बोधकुमार घिमिरेले भौतिक संरचनाको दृष्टिकोणले मोरङ गोठगाउँ सरकारी प्रस्ताव उपयुक्त हुने बताए। ‘कोसी बाँधको असर पर्दैन भने उदयपुर र सुनसरीको सीमावर्ती क्षेत्र अति उपयुक्त हो,’ उनले भने, ‘जातीय र क्षेत्रीयताको कुरा गर्नेले जे भन्दा पनि हुन्छ।’ यसैगरी, प्रेस सेन्टर उदयपुरका अध्यक्ष तुलसीप्रसाद कोइरालाले एक नम्बर प्रदेशमा पर्ने १४ वटा जिल्लाको बीच पर्ने गरी राजधानी राख्नुपर्ने बताए। ‘यातयात, सञ्चार र आवश्यक आधारभूत भौतिक पुर्वाधार भएको र निर्माण हुने पर्ने ठाउँ उपयुक्त हुन्छ,’ अध्यक्ष कोइरालाले भने, ‘तत्कालको मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयको संरचना उपयुक्त छ।’ नामाकरणको लागि अधिकांशले सगरमाथा कोसी प्रदेश हुनुपर्ने जिकिर गरेका छन्। अन्य जिल्लाको हकमा भन्दा पनि विश्वको सर्वोच्च शिखर सगरमाथा र सप्तकोसीको नामलाई जोडेर राख्दा राम्रो हुने सुझाव उनीहरुको छ।