[caption id="attachment_66491" align="aligncenter" width="972"] प्रभाकर गौतम[/caption] आधुनिक र सहिरयाले नै बच्चाहरुलाई कस्तो भाषिक-संस्कृति र व्यवहार सिकाइरहेका छन् । हाम्रो संवादमा सम्बोधन अनिवार्य छ। 'तँ', 'तिमी', 'तपाई' र 'हजुर' हाम्रा सम्बोधनका तहहरु। सामान्यतः सानो बालकले यदि कसैलाई 'तँ' भन्यो भने उसलाई 'तपाई' वा 'हजुर' भन्न सिकाइन्छ। त्यसैले भन्न सकिन्छ, सम्बोधन संस्कारजन्य कुरा हो। हुन त सुदूरपश्चिम लगायत अन्य केही भेगमा जाति विशेष समूहभित्र सानाले ठूलालाई तिमी भन्ने चलन समेत पाइन्छ। तर सन्दर्भ काठमाडौँको हो। खासगरी काठमाडौँमा एउटा समूहरवर्गमा 'हजुरु नै भन्नुपर्ने, र पुछारमा 'स्यो' जोड्ने अभ्यास छ। यस्तो भाषा प्रयोग गर्नेहरु दुईथरी छन्ः स्वाभाविक रुपमा बोल्नेहरु र अरुको प्रभावले वा रहरले बोल्नेहरु। यस्तो चलन भएकामध्ये एउटा ठूलै समूहले 'तपाई' भन्नुलाई सभ्य मान्दैन। म सानो छँदा विराटनगर आएकी काठमाडौँवासी मेरी दिदीले भनेको अझै सम्झन्छु, 'मलाई त तपाईं भनेको सुन्दा कस्तो असजिलो लाग्छ।' मेरी दिदी राजधानीको हजुर भन्ने संस्कारबाट प्रभावित थिइन्। काठमाडौँ बस्दै आएका मेरा धेरैजसो आफन्तहरु हजुर भन्न रुचाउँछन्। कोही यहीँको रैथानेसरह भएकाले त कोही काठमाडौँको अभिजात्य संस्कारप्रतिको रुचि र प्रभावका कारण। केहीले जानेर त केहीले अन्जानवश यस्तै अभ्यासलाई पछ्याइरहेका छन्। त्यसैले काठमाडौँ प्रवेश गरेका सुरुका दिनमा ममा हजुरवालाहरुसँग वार्तालाप गर्दा आफ्नो भाषा 'ठाडो' हो कि भन्ने सन्देह भइरहृयो। तर अपवादबाहेक मैले हजुरको साटो तपार्इं भन्न नै रुचाएँ। म यसमै अभ्यस्त थिएँ। संकोच र असहजताका बाबजुद काठमाडौँको भाषा वा शैलीप्रति आकर्षित भइनँ। आफूले हजुर तथा स्योस् नजोडे पनि यसरी बोल्ने व्यक्ति र परिवार हाम्रो वरिपरि जहीँतहीँ छन्। मेरै आफन्तहरु कहिलेदेखि 'तपार्इ'बाट 'हजुर' र 'स्यो'वाला कित्तामा प्रवेश गरे, मलाई राम्रो हेक्का छ। तथापि, काठमाडौँ छिरिसकेपछि तपाईं भन्नेहरुले एकाएक 'हजुर' तथा 'स्यो'भनेको सुन्दा ताजुब लाग्थ्यो। यस्तो आकर्षण सायद समाजशास्त्रीय वा मनोवैज्ञानिक अध्ययन अनुसन्धानकै विषय होला। तर यहाँ त्यसबारे चर्चा गर्न लागिएको हैन। सम्बोधनसम्बन्धी मेरा केही जिज्ञासाहरुको उत्तर खोज्ने जमर्को स्वरुप यस विषयमा प्रवेश मात्र गरेको हुँ। यहाँ मेरो अनुभवका आधारमा केही कुरा साटेको मात्र हुँ। काठमाडौँको केन्द्र मानिने बानेश्वर नजिकैको एउटा घरमा मैले झन्डै एक दशक बिताएँ। त्यस घरमा ६ जना सदस्यको परिवार थियो। तीमध्ये दुई जना पात्रको चर्चा यहाँ सान्दर्भिक छ। करिब १५ वर्षको एउटा भाइ र त्यस घरको 'काम गर्ने केटी'को भूमिकामा रहेकी बढीमा अठार वर्षीय बहिनी। त्यो भाइ होस् वा ती बहिनी, ती दुबैले मलगायत अरु जोसुकैसँग बोल्दा पनि हजुर भनेर सम्बोधन गर्थे। यसमा अस्वाभाविक मान्नु पर्ने कुरा केही थिएन। तर त्यही भाइले उमेरले आफूभन्दा ठूली हुँदाहुँदै पनि ती 'काम गर्ने केटी' बहिनीलाई चाहिँ सधैं तँ भन्थे। उसको सम्बोधनले मलाई बिझाइराख्थ्यो। 'काम गर्ने केटी' भएकै नाताले आदरार्थी शब्द प्रयोग नगर्दा पनि हुन्छ भन्ने कुरा त्यो भाइले कहाँबाट सिक्यो होला ? यो प्रश्नले मलाई घरीघरी पछयाइरहन्थ्यो। आज पनि मलाई त्यो प्रश्नले छाडेको छैन। उसले यो फरक व्यवहार अभिभावकबाट सिक्यो कि आफैं ? पक्कै पनि अभिभावकले तँ भन् भनेर सिकाएनन् तर ती बहिनीलाई आदर गर्नु पर्छ भनेर पनि त्यो भाइलाई कहिल्यै सिकाएनन्। अनि न हेप्यो त्यो भाइले ती बहिनीलाई। एकातिर हाम्रा नानीहरु अति शिष्ट देखिए पनि अर्कोतिर उनीहरुमा विभेदकारी मनोविज्ञानले पनि मलजल पाइरहेको छ। ती बहिनी तिनै हुन्, जसले त्यो भाइलाई हुर्काउन लामै समय र श्रम खर्च गरेकी थिइन्। शक्तिशाली व्यक्तिले कमजोर व्यक्तिलाई हेपेर तँ भने जस्तै त्यो भाइले पनि ती बहिनीलाई हेपेरै त्यसो भनेको हो। भलै यो कुरा उसले अन्जानमै गरेको किन नहोस्। त्यो भाइले उनलाई तँ भन्दा घरका अन्य सदस्यले तपाईं भन्नुपर्छ भनेर सिकाएको कहिले सुनिनँ। हाल ती बहिनी त्यही घरको अर्को सानो सदस्यलाई हुर्काउँदै छिन्। अहिले दिदी भने पनि सजिलै अड्कल काट्न सकिन्छ कि त्यो हुर्किनेवाला बच्चाले पनि उनलाई तँ र घरका अन्य सबैलाई हजुर भन्ने छिन्। यो सम्बोधनमा सीमित विषय मात्र होइन। काम गर्न बसेको मान्छेलाई अनादरार्थी सम्बोधन गर्ने छुट वर्गीय कारणले नै प्राप्त भएको हो। एकातिर सबैलाई अनिवार्य रुपमा हजुर भन्न लगाइन्छ अनि अर्कोतर्फ काम गर्ने भएको नाताले आफूभन्दा ठूलालाई तँ भन्दा पनि रोकिँदैन। यो कस्तो चलन ?  यसबाट घरको सानो सदस्यबाट समेत आदर नपाएकी ती बहिनीलाई अन्य सदस्यले कस्तो हैसियतमा राखेका होलान् सहजै अनुमान लगाउन सकिन्छ। वर्गीय विभेदको यो अभ्यास सम्भवतः त्यो भाइमात्र हैन दिनरात कामको चटारोमा हुने ती बहिनीलाई पनि थाहा नहुन सक्छ। थाहा छैन, घरका अन्य सदस्यहरु यसबारे कति जानकार छन् , यसले समाजमा यस्ता बालबालिकाको संख्या बढाइरहेको छ, जो एकातिर अति अनुशासित त देखिन्छन् तर अर्कातिर थाहै नपाइ सम्बोधनको राजनीतिक शिकार भइरहेका छन्। अबोध बालबालिकाले तँ भन्नु सामान्य कुरा होला। तर बुझेर पनि आफूभन्दा ठूलालाई तँ भन्नु हैकमवादी प्रवृत्ति नै हो। यो केवल शाब्दिक कुरा नभई वर्गीय विषय पनि हो । यो प्रसंग एउटा उदाहरण मात्र हो। यससँग मेल खाने अन्य थुप्रै दृष्टान्तहरु हामी जताततै देख्न सक्छौँ। ग्रामीणबाट सहरिया जीवनशैलीतर्फको आकर्षणले एउटा ठूलो समूहले 'हजुर' तथा 'स्यो' प्रयोग गर्ने भएका छन्। यो शब्दप्रतिको आकर्षण मात्र नभई वर्ग परिवर्तनको चाहना पनि हो। यस्ता अभ्यास र यसप्रतिको आकर्षणले वर्गीय स्वार्थको पक्षपोषण समेत गरिरहेको छ। कुनैबेला निबन्धकार श्यामप्रसादले समाजमा भाषा प्रयोगको वर्गविभेदबारे दशकौंअघि लेखेका थिए। तर अहिले पनि अर्को ढंगले तँ, तिमी, तपाइँ, हजुर चलिरहेकै छ।