काठमाडौं/  महानगरीय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गर्ने म्यानपावरलाई कारबाही गरेको छ। महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दिएको जानकारी अनुसार काठमाडौंको सिनामंगलस्थित ‘ब्लू स्टार ओभरसिज’ नाम गरेको म्यानपावरका सञ्चालक द्वय राम घिमिरे र संजय उप्रेतीले सिन्धुपाल्चोकका ओसन गिरीसहित २६ जनालाई कुबेत पठाइदिने भन्दै राहदानी र नगद १० लाख ६५ लिएर कुबेत नपठाइ ठगी गरेको भनी यसै पुस २० गते प्रहरीमा परेको उजुरीका आधारमा प्रहरीले उक्त म्यानपावरमाथि कारवाही गरेको प्रहरीले जनाएको छ।

उजुरीपछि म्यानपावरमा छापा मार्दा विभिन्न व्यक्तिका ३७१ थान राहदानी, भिषा इन्ट्रि रजिस्टर लगायतका कागजातहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएका कागजात अनुसार माग नै नआइकन विभिन्न देश पठाउन भनी त्यति ठूलो संख्यामा राहदानी र बिना भर्पाइ रमक संकलन गरिएको देखिएको र पीडितहरुको गुनासो आउन थालेपछि कानुन विपरित कम्पनीको कार्यालयसमेत अन्यत्र सारेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

ठगी गर्ने म्यानपवरमाथि थप अनुसन्धान र कारवाहीका लागि बरामद गरिएका कागजात बैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको महाखाशा प्रमुख लोहनीले बताएका छन्।

अन्नपूर्णपाेष्टबाट