इजरायली प्रधानमन्त्री नेतान्याहु पत्नी साराका साथ साबरमतीमा चर्खा कात्दै ।

नयाँदिल्ली/ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधबार शक्तिशाली देशसँग सम्बन्ध गाँसिने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराज सहभागी ‘रासिना संवाद' कार्यक्रममा नेतन्याहुले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

वार्षिक भूराजनीतिक सम्मेलनमा बोल्दै उनले कमजोर देश टिक्नै नसक्ने र शक्तिशाली मात्र बाँच्ने दाबी गरे। यसैले इजरायलले बलियो देशसँगको सम्बन्धलाई जोड दिने उनले स्पष्ट पारे। उनले भने, ‘मलाई लाग्छ, शक्तिशालीसँग गठबन्धन बनायो भने यसबाट अनन्त सम्भावना रहन्छ। यहुदी जातिले इतिहासबाट यस्तो पाठ सिकेको छ।' नेतन्याहु ६ दिन लामो भारत भ्रमणमा छन्। प्रधानमन्त्री नेतन्याहुले इस्लामी कट्टरवाद र योसम्बद्ध आतंकवादीबाट अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पर्ने चर्चा गरे। यसबाट बच्न भारत र इजरायलबीच थप सुदृढ सम्बन्ध हुनुपर्नेमा जोड दिए। ताजमहलको भ्रमण र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटपछि नेतन्याहु दिल्ली आएर ‘रायसिना संवाद'को उद्घाटन गरेका थिए।

उक्त कार्यक्रमको उद्घाटन गर्दै उनले भारत इजरायलको ‘स्वाभाविक मित्र एवं साझेदार' भएको बताएका थिए। भारतीय प्रधानमन्त्री मोदीको भाषणको चर्चा गर्दै उनले भने, ‘तीन हजार वर्षपछि इजरायलमा आउने तपाईँ महान् नेता हुनुहुन्छ।' भारतले इजरायलप्रति जति विश्वास गर्छ, त्यति नै इजरायलले भारतप्रति सम्मान र भरोसा गर्ने गरेको बताए। नेतन्याहु भारत भ्रमण गर्ने इजरायलका दोस्रा प्रधानमन्त्री हुन्। दुई देशबीच आफ्ना नागरिकलाई चुस्त सुरक्षा व्यवस्था दिने विषयमा छलफल गरिने उनको भनाइ थियो।

नेतन्याहुले भने, ‘हाम्रो प्रयासमा इस्लामिक कट्टरवाद र सम्बद्ध आतंकवादीले चुनौती दिइरहेका छन्। उनीहरूले अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा चुनौती दिन चाहन्छन्।' सशक्त र सुदृढ राष्ट्रका रूपमा उभिन आर्थिक, सैन्य र राजनीतिक शक्ति विकास गर्नु जरुरी रहेको उनको कथन छ।

उनले सरकाले आर्थिक प्रगतिलाई सहज बनाउन र अप्ठेरो पार्ने दुवै काम गर्न सक्नेतर्फ संकेत गरे। विगतमा भारतमा कर्मचारीतन्त्रले त्यसमा बाधा पुर्‍याएको उनले दाबी गरे। आर्थिक क्षेत्रमा सहजीकरण गरेको भन्दै उनले मोदीको प्रशंसा पनि गरे। उनले देशको रक्षाका लागि सुदृढ र सबल सेना आवश्यक हुने र त्यसलाई व्यवस्था गर्न पैसा हुनुपर्नेमा जोड दिए। सुदृढ अर्थतन्त्र नभएसम्म सेनाको व्यवस्था गर्न सम्भव नहुने उनको भनाइ छ। लोकतान्त्रिक व्यवस्था भएका मुलुकहरूबीच गठबन्धन हुनुपर्ने उनको आग्रह छ।

कार्यक्रमको आयोजना भारतीय विदेश मन्त्रालय एवं ‘अब्जर्भर रिसर्च फाउन्डेशनुले गरेका थिए। गत वर्ष मोदीले इजरायल भ्रमण गरेका थिए। इजरायल भ्रमण गर्ने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्।इजरायल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष भए पनि अहिले आफ्नो भ्रमणबाट विशेष उपलब्धि भएको नेतन्याहुले बताउँदै आएका छन्। नेतन्याहुको नेतृत्वमा १३० सदस्यीय इजरायली प्रतिनिधिमण्डलमा प्रविधि, कृषि तथा प्रतिरक्षा मामिला हेर्ने व्यापारिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ।

‘आतंकवाद रोक्न मिडियामा सीमित अंकुश' ‘रायसिना संवादमा‘मा भारतीय सेना प्रमुख विपीन रावतले आतंकवाद रोक्न विदेशी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सीमित अंकुश लगाउनुपर्ने बताएका छन्। आतंकवाद रोक्न प्रविधि प्रयोगका साथै त्यस्तो अंकुश लगाउनु आवश्यक भएको उनको भनाइ छ। आतंकवादी संगठनले उच्च प्रविधिका साथै विदेशी सञ्चारमाध्यम प्रयोग गरेको उनले दाबी गरे। तीन दिनसम्म चल्ने उक्त संवादमा ९० देशका ५ सय ५० प्रतिनिधि सहभागी छन्। सेना प्रमुख जनरल रावतले भने, ‘आतंकवादले हाल उच्च प्रविधि प्रयोग गरिरहेका छन्। प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय सीमा पार गर्न उनीहरू सफल हुन्छन्। यस्ता आतंकवादीलाई सहयोग गर्ने व्यक्तिलाई हामीले पहिचान गरी निगरानी गर्नु आवश्यक छ।' प्रविधिको प्रयोगले परमाणु र रासायनिक हतियारसम्म आतंकवादीको पहुँच भएमा अकल्पनीय अवस्था हुने भन्दै उनले चिन्ता व्यक्त गरे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आंशिक नियन्त्रण गरिनुपर्ने उनले आग्रह गरे। आतंकवादीले कतिपय सञ्चारमाध्यम आफ्नो स्वार्थमा प्रयोग भइरहेको उनको भनाइ थियो। प्रजातान्त्रिक देशमा सञ्चारमाध्यममा सीमित नियन्त्रण गर्ने कुरा अरुचिकर हुन सक्नेतर्फ उनले संकेत गरे। रावतले प्रश्न भने, ‘हामीलाई स्वतन्त्र र सुरक्षित देश आवश्यक छ कि छैन ? यसका निम्ति आतंकवाद नियन्त्रण हुनुपर्ने र आंशिक अंकुश लगाउन सकिन्छ।'