स्थानीय तह लामो समयदेखि कर्मचारीको हातबाट संचालन भयो । कर्मचारीको हातबाट चलेका स्थानीय तहको अपेक्षाकृत विकास हुन सकेन । विकास होस् पनि कसरी । एउटा कर्मचारी, त्यसमा पनि अर्कै ठाउँसँग भावनात्मक संवन्धले अनुवन्धित भएको व्यक्तिले स्थानीय स्तरका आवस्यक्ताको पूर्ण रुपमा निक्र्योल कसरी गर्न सक्छ ? र गर्न सकेन पनि । जति स्थानीय जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् त्यति कर्मचारी हुनै सक्दैनन् भन्ने विश्वव्यापी मान्यतालाई चुनौति दिन सक्ने कुरै भएन ।

नेपालको कर्मचारीतन्त्र स्वार्थमा लिप्त छ । झन् यो विगत लामो समयदेखि भष्ट्रचारको जालोले निस्कनै नसक्नेगरि जकडिएको छ । उसले अधिकांश समय आफ्नै स्वार्थमा प्रयोग गर्यो । आफ्ना नातागोतालाई कसरी राम्रो ठाउँमा पुर्याउने, सुविधा दिने ध्याउन्नमै व्यस्त रह्यो । सरुवा र बढुवामै अधिकांश समय खच्र्यो । दसदेखि चार बजेसम्मको समयलाई पनि जनताको काममा राम्रोसँग प्रयोग गर्न नसक्ने, अधिकांश समय माथिल्लो तहका हाकिमकै चाकरी र चाप्लुसीमै व्यतित गर्ने कर्मचारीतन्त्रले जनचाँहना अनुसार काम गरेन भन्नु युक्तिसंगत हुँनै सक्दैन ।

हुनत राज्यका सबै कर्मचारीहरू भ्रष्ट मानिसकताका मात्र छन् भन्ने चाहिँ होइन । यहाँ राम्रा तथा इमान्दार पनि छन् । तर त्यस्ता कर्मचारीहरूको संख्या न्यून छ । इमान्दारलाई इमान्दार भएर काम गर्ने वातावरण नै छैन । अर्थात उनीहरूलाई त्यस्तो अवसर नै प्रदान गरिदैन भन्दा पनि अत्युक्ति नहोला । त्यस्ता कर्मचारीहरू कि त आफ्नै सहयोगीको निसानामा हुन्छन् कि त स्थानीय राजनैतिक पार्टी र तिनका कार्यकर्ताको ।  स्थानीय निर्वाचन सम्पन्न भएको यति लामो समय भैसक्दा पनि अधिकांश स्थानीय तहमा नामाकरण र केन्द्र कहाँ राख्ने भन्नेमै विवाद देखिन्छ । र यो विवाद पछिसम्म पनि रहिरहने सन्देह देखिएको छ । त्यसो त हरेक चिजलाई राजनैतिक आँखाले हेर्ने वानी परेका हाम्रा नेताहरूले आफ्नो वानीलाई सुधार्न सकेका छैनन् । उनीहरुले देशमा अव राजनैतिक मुद्दा सकियो अवको मुद्दा विकास र समृद्घिको हुनुपर्छ भन्दै ठूल्ठूला नारा घन्काइरहे पनि तिनै मुद्दालार्इ आत्मसात गर्न सकिरहेका छैनन् ।

केहीलाई डरछ कतै —यो मुद्धा सल्टियो भने अर्को चुनावमा जनतासामु के कुरा लिएर जानू । हाम्रो कमाईखाने भाँडो नै समाप्त हुनेछ ।’  २०४६ साल पछि मात्र देशमा पटक पटक सरकार बनाउँने र भत्काउने काम भयो । सदनको अधिकांश समय सरकार बनाउँने र भत्काउँने काममै वित्यो, वा संसद सरकार बनाउँने र मन्त्रीहरुलाई जागिर खुवाउँने एक निकायको रुपमा परिणत भयो भन्दा पनि गलत नहोला । समयमा बजेट आउँन सकेनन् । आएका बजेटले पनि कार्यान्नयन हुनै पाएनन् । बन्दै भत्किने सरकारका कारणले गर्दा दुरगामी महत्व राख्ने योजनाहरु आउनै सकेनन् । आएका केही योजना पनि राजनैतिक भागबण्डाका कारणले अगाडि बढ्नै सकेनन् । जसले गर्दा विकास र समृद्धिका हिसावले देश थलै पर्यो ।

सरकार बनाउँने र भत्काउँने खेलबाट जनता आजित भएका छन् । जनता स्थाई सरकार चाहन्छन् । उनीहरु विकास र समृद्धि चाहन्छन् भन्ने कुरा यस पटकको निर्वाचनले प्रष्टै देखाइ दिएको छ । समृद्धिको नाराले गर्दा नै बाम गठबन्धनले संघीय संसदमा मात्र नभएर प्रदेशमा समेत स्पष्ट बहूमत ल्याउँन सफल भएको हो । जनताले अहिले बामगठवन्धनलाई स्थाई सरकार बनाउँन मत दिएकाछन् । उनीहरू मिलेर स्थाई सरकार चलाउँन भन्ने चाहेका छन् न कि फुटेर । एमालेको नौ महिने सरकारले अघि सारेका केही कार्यक्रमबाट जनता प्रभावित भएका थिए । आफ्नो गाउँ आफै बनाउ, सामाजिक सुरक्षा भत्ता लगायतका थुप्रै लोकप्रिय कार्यक्रमहरुले एमालेलाई पनि त्यतिकै लोकप्रिय र जनताप्रति आसावादी वनायो । बामगठवन्धनले जनताको मत पाउनुको एउटा कारण यसलाई पनि मान्न सकिन्छ ।

अव बन्ने सरकारबाट जनताले धेरै कुरा चाहेका छैनन् । उनीहरूले आफ्नो घरअघिको बाटो–घाटो बनेको हेर्न चाहेका छन् । खाने पानीको घाराबाट सधैँ पानी आओस् भन्ने चाहेका छन् । गाउँलाई अन्धकार मुक्त भएको हेर्न चाँहेका छन् । उनीहरुले सुरक्षित रुपमा हिँडडुल गर्न पाउने आसा राखेका छन् । अर्थात उनीहरू बिहान पढ्ने गएका आफ्ना नानीहरू बेलुका सकुसल घर फर्कने वातावरण बनोस् भन्ने चाँहेका छन् । आफ्नो पेसालाई स्वतन्त्र तथा सम्मानित रुपमा संचालन् गर्न पाइयोस् भन्ने चाहेका छन् । जनताका चाहना त्यति ठूला छैनन् । र पुरा गर्न नसक्ने खालका पनि छैनन् । तर यही मौजुदा कर्मचारी तन्त्रकै भरमा भने जनताले आसा गरेका कुरा पुरा हुन सक्दैनन् । तसर्थ मौजुदा कर्मचारीतन्त्रको आमूल परिवर्तनको पनि उतिकै खाँचो देखिन्छ । यो चुनौति अव वन्ने सरकारको काँधमा आएको छ । र त्यतिकै चुनौति स्थानीय जनप्रतिनिधिको काँधमा पनि छ । यो चुनौतिलाई कसरी सामना गर्छन त्यसैको आधारमा उनीहरू को भविष्य निर्धारण हुनेछ । तर सरकार निर्माण हुँन नपाउँदै गठबन्दनलाई तोड्ने र फेरि जनताको स्थाई सरकार र त्यसमार्फत हुने विकास र समृद्धिको चाँहनामा कुठाराघात पार्ने प्रयास भैरहेका छन् । केही शक्तिहरु अदृश्य रुपमा मात्र नभएर घोषित रुपमै यो गठबन्धनलाई तोड्नेमा लागेका छन् । जनताले बामगठवन्धनलाई स्थाई सरकारका लागि मात्र मत दिएका हुन् न कि फेरि टुटफुटका लागि । देशलाई पुनः अस्थिरतातर्फ लैजानका लागि जनताले मत दिएका होइनन् । र उनीहरुले त्यस्तो भूल कदापि गर्नु हुँदैन । यो गठवन्धनले जनभावना अनुसार काम गर्न सकेन भने जनताले यसलाई छाड्ने छैनन् । उनीहरुले जनताले दिने सजायको भागिदार हुनुपर्छ । लोकतन्त्रमा आस्था राख्ने राजनैतिक पार्टीकालागि जनता र उनीहरुको आदेशभन्दा ठूलो कुरा अरु केही पनि हुन सक्दैन । तसर्थ यो गटबन्धनले जनताको विकास र समृद्धिको चाहनालाई कुठाराघात हुनदिनु हुदैन । साथै जनताले पनि यसकालागि राजनैतिक पार्टी र तिनका नेताहरुलाई खबरदार गर्नुपर्छ । भन्न डराउँनु हुन्न ‘खबरदार नेताहरु जनताको विकास र समृद्धिको चाहनालाई कुठाराघात गरौला ।’