वि.सं. २०७४ साल माघ ८ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी २२ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, १२:५७ बजेउप्रान्त षष्ठी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने लामो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। परिस्थितिवश काममा बाधा पुग्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। शुभचिन्तकहरू टाढिनेछान् भने काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिनेछन् र घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने लेनदेनमा विवाद हुन सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउनेछ। तापनि मिहिनेतले सफलता दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। गृहस्थी सुखद रहनेछ भने परिवारजनको साथले आशा जगाउनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सामाजिक उत्तरदायित्व वहन गर्दै दिगो फाइदा हुने काम हात पार्ने मौका छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आफ्नो स्वामित्वका वस्तुमा विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आफन्तबीच आत्मीयतामा कमी आउला। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। तर अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। नयाँ योजना कार्यान्वयन गर्न निकै मिहिनेत गर्नुपर्ला। तापनि, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। तर, बेसुरको अलमलले काममा पछि पारिनेछ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउलान्। कामका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। (नेपाली पात्रो)