इलाम (रासस) । इलाम नगरपालिकाको साँखेजुङस्थित रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा यस वर्षदेखि पशु विज्ञानमा पढाई शुरु भएको छ ।

पोलिटेक्निक इन्स्टिच्युटमा तीनवर्षे आइएसिएजी पशु विज्ञान विषयमा पढाइ शुरु भएको हो । रु ४० करोडको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चार वर्षअघि निर्माण थालिएको यो शिक्षालयमा करिब रु २० करोड खर्च भइसकेको निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष अम्विका गौतमले बताउनुभयो ।

पहिलो वर्ष पशु विज्ञान, दोस्रो वर्ष कृषि र फरेस्टी तथा तेस्रो वर्ष फुड एण्ड डेरी विषयको पढाइ शुरु गरिने पनि शिक्षालयले जनाएको छ । छुट्टाछुट्टै तीन विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गराइने शिक्षालय मेची अञ्चलमा पहिलोपल्ट निर्माण भएको हो । आइतबार इलाम नगरपालिका–१ का वडाध्यक्ष गौतम र शिक्षालय प्रमुख होमनाथ अधिकारीले पढाइ सञ्चालन भएको घोषणा गर्नुभएको हो । यहाँ पशु विज्ञान विषय अध्ययन गर्ने ४० जना विद्यार्थी छन् भने तत्कालका लागि पाँचजना प्रशिक्षक रहेका छन् ।

“सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत निर्माण गरेको यस शिक्षालयमा निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ”, गौतमले भन्नुभयो, “आगामी वर्षसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।” एक सय ५८ रोपनी क्षेत्रफलमा फैलिएको शिक्षालयमा प्रशासनिक भवन, शैक्षिक, छात्रावास, आवास भवन बनाइएको छ । शिक्षालय निर्माणका लागि नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ५० रोपनी जग्गादान गर्नुभएको थियो भने स्थानीय व्यक्तिले सय रोपनीभन्दा बढी जग्गादान गरेका थिए ।

एक शैक्षिक सत्रमा ३६० जना विद्यार्थी अध्ययन गर्नसक्ने क्षमताको शिक्षालय मेची अञ्चलमै पहिलो हो । इलाम कृषि क्षेत्रमा अगाडि भएकाले यहाँ सुहाउँदो शिक्षालय स्थापना गरिएको हो, वडाध्यक्ष गौतमले भन्नुभयो, “यहाँबाट उत्पादन भएका विद्यार्थी देशका अन्य स्थानमा समेत राम्ररी गरिखान सक्छन् ।” जिल्लाका दुर्गममा बस्ने विद्यार्थीलाई यो राम्रो अवसर भएको उहाँ बताउनुहुन्छ । “हामीले पढ्न नपाए पनि छोराछोरी र सन्ततिहरूलाई धेरै फाइदा पुग्छ”, उहाँले भन्नुभयो, “यहाँका विद्यार्थीले अब जिल्लामै राम्रो अवसर पाउनेछन् ।”

मेची राजमार्गसँगै जोडिएको साँखेजुङको रुम्दाली डाँडामा शिक्षालय निर्माण भएपछि आसपासका क्षेत्रमा चहलपहल शुरु भएको छ । नेपालको धनकुटा, भक्तपुर, जुम्ला, दाङ र दोलखा जिल्लामा प्राविधिक शिक्षालय स्थापना भइसकेका छन् ।