सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराए वापत थप प्रोत्साहन भत्ता दिने भएको छ ।

गाउँपालिकाले मान्यता प्राप्त अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपैयाँ दिने भएको हो । गाउँपालिकाको प्रथम गाउँसभाले यो निर्णय गरेसँगै बिहीबारदेखि औपचारीक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयोे । गर्भवती आमा र नवजात शिशुको जीवन रक्षा गर्नु स्थानीय तहको पनि जिम्मेवारी रहने भन्दै यो सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । अझै पनि जनचेतना लगायत विविध कारणले घरैमा प्रसूति गराउने क्रम रहेकाले त्यसको अन्त्य गर्दै अस्पतालमा नै प्रसूति गराउने उदेश्यका साथ यो कार्य सुरु गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा प्रसुती गराएको रिपोर्ट पेश गर्ने हरेक आमाले गाउँपालिकाको तर्फबाट प्रोत्साहन भत्ता पाउँनेछन् ।” यस्तै वर्थिङ सेन्टरमा प्रसूति गराउनेले गाउँपालिकाको तर्फबाट तीन हजार पाँच सय रुपैयाँ पाउनेछन् ।