काठमाडाै । गाउँका २ सय भन्दा धेरै चेलीलाई भारतका बेश्यालयमा लगेर बिक्रि गरेको आरोपमा पक्राउ परेका नुवाकोटका एक वडाअध्यक्षलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मुद्दामा नुवाकोटको दुप्चेश्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रहरीको अनुसन्धानमा उनले गाउँका २ सय भन्दा धेरै चेलीहरु बम्बई तथा दिल्लीका बेश्यालयहरुमा लगेर बिक्रि गरेको खुलेको थियो। एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा बेश्यालय चलाउदै आएको प्रहरी अधिकारीहरु बताउँछन्। बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो। १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन्।

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

तर, फरार रहदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनीविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए।

बेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफ्नोविरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्।

२०५१ सालकै मुद्दामा उनलाई अदालतले ६ वर्ष कैद सजाय सुनाइसकेको छ। नयाँ मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि उनी पुरानो मुद्दामा जेल बस्नुपर्ने छ।

र याे पनि पढ्नुहाेस्

वडाअध्यक्ष जसले दुई सय चेली वेश्यालय पुर्‍याए