बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’ यो हप्ताको शुक्रवारबाट चीनमा प्रदर्शन भएको छ । रिलिजको पहिलो दिन नै यो फिल्मले आमिरको फिल्म 'दंगल'को रेकर्ड समेत तोडेको छ । चीनमा प्रदर्शनको दोस्रो दिनमा यस फिल्मले सय करोड ग्रस विजनेश गरेको छ ।

चीनमा आमिरको यो फिल्मले दुई दिनमा नै भारतको लाइफटाइम कमाईलाई पछाडि छाडिदिएको छ । यो फिल्मले पहिलो दिन चीनको बक्स अफिसमा ६.८६ लाख डलर अर्थात्, ४३. ३५ करोड कलेक्सन गर्‍यो । यस्तै, दोस्रो दिन १०.४५ लाख डलर कमाउन सफल भयो । योसँगै फिल्मले दुई दिनमा १७ लाख ३१ हजार डलरको विजनेश गरेको छ । अर्थात्, ‘सिक्रेट सुपरस्टार’ले दुई दिनमा ११०.५२ करोड कलेक्सन गरेको छ ।

‘सिक्रेट सुपरस्टार’ चीनमा रिलिज भएको भारतीय फिल्ममध्ये अब पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । फिल्ममा आमिर खानसँगै जायरा वसीमको मुख्य भूमिका छ । आमिर खान र उनकी पत्नी किरण रावको निर्माण र अद्वैत चन्दनको निर्देशन रहेको फिल्म ‘सिक्रेट सुपरस्टार’को कथा अद्वैत चन्दनले लेखेका हुन् ।

‘सिक्रेट सुपरस्टार’ले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला सार्वजनिक गर्ने बालिकाको कथा देखाउँछ।