उमेरले झण्डै ६० वर्ष नाघिसकेका हास्यकलाकार राजाराम पौडेल नायिका द्वय केकी अधिकारी र नीता ढुंगानाभन्दा उमेरले कान्छा हुन् भन्दा सायद आश्चर्यमा नपर्ने को नहोला र ? हो, राजाराम स्वयं गएको डिसेम्बरबाट आफू १६ वर्षमा लागेको बताउँछन् । हुनत, उनको हँसिलो र फुर्तिलो शरीर देख्दा उनी १६ वर्षका तन्नेरी हुन् भन्दा गलत हुँदैन ।

लामो समय अमेरिका बसाईपछि पछिल्लो समय नेपाली फिल्ममा सक्रिय उनी अभिनीत नयाँ फिल्म 'हुर्रे' फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । योसँगै चैत ९ गते उनी अभिनीत अर्को फिल्म 'शत्रु गते' पनि रिलिजको तयारीमा छ ।

आइतबार सार्वजनिक भएको फिल्म 'हुर्रे'मा समावेश ‘बाँचे नी पशुपति मरे नी पशुपति...’ गीतमा राजारामले नायिका नीता ढुंगानासँग मज्जैले कम्मर मर्काएका छन् ।

यसअघि यही फिल्ममा समावेश 'ठेकीमा दही' बोलको गीतमा नायिका केकी अधिकारीसँग उनले ठुम्का लगाएका थिए । दुई नायिकासँग नाच्दाको अनुभव कस्तो रह्यो ? भन्ने पत्रकारको प्रश्नमा राजारामले भने, 'गएको डिसेम्बरबाट म भर्खर १६ वर्षको भएँ । आफूभन्दा अग्रज नायिकासँग काम गर्न पाउँदा निकै रमाइलो भयो । म चाहन्थेँ कि फिल्मको सुटिङ कहिले नसकियोस् ।' उनले यसो भन्दै गर्दा नीता र केकीले आफ्नो हाँसो रोक्न सकेनन् ।

नीताले पनि आफूभन्दा सानोसँग नाच्न निकै अफ्ठ्यारो भएको बताइन् । हाँसो सम्हाल्दै नीताले भनिन्, 'सानो मान्छेले पनि ठूलो काम गर्नुभएको छ । राजाराम भाईले गर्दा खेरि गीतको सुटिङ सकिएको पत्तो नै भएन ।' यस्तै, केकीले पनि राजाराम पौडेलको जोशको तारिफ गरिन् ।

यम थापाको लेखन/निर्देशनमा बनेको कमेडी जनराको फिल्म 'हुर्रे'मा केकी र राजारामका अलावा अनुपबिक्रम शाही, संगीता नापित, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ ।