हङकङ नेप्लिज टेसिस सोसाइटीद्वारा आयोजित ‘न्यूइयर कप’ को उपाधी नेपालखबरका संवाददाता मगेन्द्र राईले जितेका छन्।

आइतबार हङकङको किङ्स पार्कस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा राईले विकाश गुरुङलाई ६–४ को अन्तरमा हराएर च्याम्पियनशीप ट्रफी उचालेका हुन्।

पुराना तथा अनुभवी एक दर्जन खेलाडीलाई ए र बि दुई समूहमा विभाजन गरी राउन्ड रोबिनको आधारमा सिक्स गेम प्रो सेट फर्म्याटमा खेलाइएको थियो। समूह ए बाट विकाश र समूह बि बाट मगेन्द्र फाइनलमा प्रवेश गरेका थिए।

फाइनल खेलमा राईले पहिलो सर्भ गरेका थिए। तेस्रो गेममा सर्भ गुमाएका राईले ब्याक टु ब्याक ब्रेक गरी ३–२ ले लिड गरे। निकै सनसनीपूर्ण खेलमा राईको शक्तिशाली ग्राउन्ड स्टोकले विकाशलाई रक्षात्मक स्थितिमा पुर्याएको थियो।

५–३ ले लिड गरी म्याचका लागि ४०–३० मा सर्भ गरेका राईले जितमा कन्भर्ट गर्न सकेनन्। विकाशले सर्भ ब्रेक गरेर ४–५ मा पुर्याए। त्यसपछि राईको आक्रामक रिटर्नलाई विकाशले थेग्न सकेनन्। फलत ०–४० मा राईले लिड गरे।

ट्रिपल म्याच प्वाइन्ट सेभ गरेर १५–४० मा गरेको विकाशको सर्भलाई शक्तिशाली रिटर्न अन्फोर्स एरोर गरेपछि राईले जित आफ्नो पोल्टामा पारेका थिए। राई टेनिसका सर्टिफाइड कोच पनि हुन्।

टेनिस प्रतियोगिताका अलावा सोसाइटीले टेनिस सिकाउने तथा सामाजिक र मानवीय क्षेत्रमा पनि उल्लेखनीय कार्य गरिरहेको छ। निकट भविष्यमा नेपालका बाढी पीडितको सहयोगार्थ बालमैत्री भवन निर्माण गर्ने तयारी पनि रहेको सोसाइटीले जनाएको छ।

नेपालखबर