फिल्म ‘होस्टेल’बाट नेपाली रजतपटमा भित्रिएका सदाबहार नायक भुवन केसीका छोरा अनमोल केसी अहिलेका सुपरस्टार हुन् । ‘होस्टेल’पछि आएका ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’को सफलताले अनमोललाई नेपालको ‘नम्बर वान’ नायकको रुपमा उभ्याएको छ ।

अहिले ‘फिल्म कि भगवान भरोसाले चल्छ कि अनमोल भरोसाले’ समेत भन्न थालिएको छ । एउटा संयोग नै भनौँ वा वास्तविकता अहिलेसम्म अनमोलले दोहोर्‍याएर कुनै पनि नायिकासँग काम गरेका छैनन् । प्रत्येक फिल्ममा उनको जोडीको रुपमा नयाँ अनुहार नै बाँधिएका छन् ।

माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'कृ'मा पनि उनले नव-नायिका अदिती बुढाथोकीसँग स्क्रिन शेयर गरेका छन् । यस्तै, उनको नयाँ प्रोजेक्ट 'क्याप्टेन'मा पनि लिड रोलमा उपासना सिंह ठकुरीको नाम बाहिर आएको छ । तर, कन्फर्म भने भएको छैन ।

‘प्रत्येक फिल्ममा नयाँ हिरोइन हुनु कथाको माग हो वा अनमोलको ?’ फिल्मीखबर डटकमसँग कुराकानीको क्रममा उनले भने, ‘सबैलाई लाग्छ होला कि यो मेरो निर्णय हो । तर, नायिका छनौटमा मेरो हात हुन्नँ । निर्देशक र निर्माताले नै नायिका छनौट गर्नुहुन्छ । मैले बरु आफ्नो सर्कलमा उ राम्रो हुन सक्छ भन्छु तर फाइनल चाहिँ मेरो हातमा हुँदैनँ ।’

उनले आफू नयाँसँग मात्र नभएर सबै कलाकारसँग काम गर्न इच्छुक रहेको पनि बताए । अनमोल अगाडि भन्छन्, ‘म फिल्म इन्ड्रष्ट्रीको सबै जनासँग काम गर्न चाहन्छु ।’ सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको 'कृ'लाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो ।

यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास गिरी र भूवन केसी निर्माता रहेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।