शनिश्चरे/श्रीपञ्चमीको अवसरमा झापाको दमकमा पछिल्लो समयको चर्चित र लोकप्रिय साहित्यिक विद्या गजलका २ सर्जकको ‘मितेरी गजल वाचन’ सम्पन्न भएको छ ।

स्वतन्त्र विद्यार्थी यूनियन दमक क्याम्पसको आयोजना र सीधा रचना वाचनको संयोजनमा सोमबार प्रदेश नम्बर १ को धनकुटाका गजलकार इश्वर दहाल र ७ को अछामका गजलकार कमल संघर्षले आफ्ना शक्तिशाली गजल वाचन गरेका हुन् । उनीहरुको स्वादिला र चोटिला गजल सुन्न झापा, मोरङ र इलामका सर्जकका साथै दमकका विद्यार्थीहरुको उल्लेखीय उपस्थितीमा माहोल जमेको थियो ।

एक एक दर्जन वढी गजल वाचन गरेका उनीहरुमध्ये कमल गजलमा वचपनको यस्तो कुरा गर्दै थिए :

नच्यातियोस् भनेर गरियो जतन, च्यातियो

खेलौना बनाउँदा बनाउँदा बचपन च्यातियो ।।

पछिल्लो युवा पुस्ताका दुवैले एकसे एक गजल वाचन गरी छोटो संरचनाभित्र गहन अभिव्यक्ति दिन सकिने कुरालाई निकै प्रभावकारी गजलमार्फत प्रस्तुत गरे । इश्वरले समसामयिक परिस्थितीसँग माया जोडेर गजलको वजन चित्रझैं उतारे :

कसैको दिलमा यो ज्यान यस्तो भाउमा राख्नुपर्छ

जस्तो एक रुपियाँको कुपन चाउचाउमा राख्नुपर्छ ।।