भद्रपुर । प्रविधिले फड्को मारीरहेको अबस्थामा नगरपालिका तथा गाउापालिकामा रहेका जनता भने सञ्चारको पहँुचवाट टाढा रहेको पाइएको छ । झापाको दक्षिणी क्षेत्र साविक पृथीवीनगर ,केचना, बनियानी, महेशपुर गाविस हाल भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका क्षेत्रका अधिकांश स्थानीय सञ्चार सेवाबाट टाढा रहेको पाइएको हो । सो क्षेत्रमा नेपाल टेलिकम र एनसेल कम्पनीले सेवा प्रवाह गरिरहेका छन् । मेची राजमार्ग अन्तर्गत रहेको चारआली– केचना सडकको चोक चोकमा दुइवटा संस्थाले टावर राखेका छन् । टावर भएतापनि सेवा विस्तार नगरेका कारण स्थानीय पीडित बनेको भद्रपुर नगरपालिका २ गौरीशंकरका समाजसेवी फागु सुब्वाले बताए । टेलिकमको टावरमात्र राखिएको छ तर, सेवा सुचारु नगरिएको उनको भनाई छ । एनसेलको पनी सगरमाथा चोकमा मात्र टावर राखेर भित्रीवस्तीमा नराखेका कारण टावरको पहँुचवाट टाढा रहेका सेवाग्राहीले सेवा लिनबाट बन्चित हुनु परेको उनले बताए । दक्षिणी क्षेत्रका अधिकांश बासिन्दाले नेपाल टेलिकमको सेवा प्रभावकारी नभएर एनसेलको सीमकार्ड लिएपनि सेवा नपुगेको उनको भनाइ छ । फोन गर्नलाइ मुख्य सडकमा आएपछिमात्र सम्पर्क हुने भएकोले समस्या बढेर आएको उनले गुनासो गरे । गाउँको समस्यालाइ ध्यानमा राखेर दश महिना अघि एनसेल कम्पनीका प्राविधिकले आएर स्थलगत निरीक्षण गरि आवश्यक्ता ठानेर टावर राख्ने स्थानको तय गरेर गएपनि हालसम्म कुनै प्रक्रिया अघि नबढाएको उनको भनाइ छ । गाउँमा कुनै घटना भएपनि मोवाइल नचलेका कारण समयमा सुचना दिन समस्या भएको स्थानीय इन्दिरा राइले गुनासो गरिन् । घटना जतिवेला पनि हुनसक्छ, त्यो समयमा तत्काल सम्बन्धित निकायमा कसरी जानकारी गराउनु उनले भनिन । वर्षको समयमा अनि जंगली हात्तीको विगबीगी भएको यस क्षेत्रमा नेटवर्कले काम नगर्दा समस्या बढेर आएको स्थानीयले बताए । मुख्य सडकको छेउछाउमा मात्र नेटवर्क हुने गरेको छ भने अन्य क्षेत्रका भित्री गाउँमा मोवाइल नलाग्ने गरेको उनिहरुको भनाइ छ । प्राविधिक आएर गाउँमा चेकजाँच गर्दा एउटै घरमा एनसेलको सात वटा सीम कार्ड भेटेपछि टोलीले आवश्यक्ता महशुस गरेर गएको स्थानीयको भनाइ छ । गाउँमा देखिएको समस्याका बारेमा समस्यालाइ उल्लेख गरेर कुनै आधिकारिक पत्र आएमा आफुले केन्द्रमा पठाउने एनसेलका मेची अञ्चल प्रमुख बीरेन्द्र झाले बताए । अञ्चलले टावरको रेखदेख लगायतका काम मात्र गर्ने भएकोले नयाँ सेवा विस्तारको लागि अधिकार नरहेको झाको भनाइ छ । आफ्नो अधिकार बाहेक जे समस्या आउछ त्यो केन्द्रमा पठाइने उनले बताए । टावर राख्नेबारे स्थानको तय भइनसकेको उनको भनाइ छ । दक्षिणी क्षेत्रमा टावर र पावर जडान भइसकेकोले चाडै सेवा सुचारु हुने नेपाल टेलिकम भद्रपुरका निमीत्त कार्यालय प्रमुख वीजय अधिकारीले बताए । टेलिकमको केन्द्रिय विभागको योजना अनुसार हुवाई टेक्नोलोजीलाइ ठेक्का दिएकोले सामान आइनपुगेका कारण सेवा सुचारुमा ढिलाइ भएको अधिकारीले बताए । सामन आइपुगे लगत्तै सेवा सुचारु हुने उनको भनाइ छ । स्थानीय तहको निर्वाचनका समयमा महत्वपुर्ण स्थानमा वाइफाइ जोन सञ्चालन गर्ने घोषणा पत्रमानै उल्लेख गरिएको भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठले बताए । निर्वाचित भइसकेपछि गाउँको समस्यालाइ लिएर नेपाल टेलिकमको निर्देशनालयमा सेवा सुचारुको लागि पत्र पठाइसकिएको प्रमुख श्रेष्ठले बताए । टेलिकमले दक्षिणी क्षेत्र ज्ञाने चोक,सोमवारे लगायतको स्थानमा टावर राखेपनि विटिएस क्षमता सुचारु नगरेका कारण समस्या भइरहेकोले यो विषयमा चासो राखिएको श्रेष्ठको भनाइ छ ।