कुराकानीक्रममा सांसद सुदन किरातीसाह्रै खुसी देखिए । भने, ‘२४० वर्षको राजतन्त्र सदनबाट ताली बजाएर अन्त्य गर्दा कम्ती खुसी लागेन ।’

कुराकानीक्रममै सांसद किराती पटक–पटक भावुक बने । ‘जेलबाट बाहिरिएपछि घर पुगें । ५४ वर्षीय आमा उभिइरहनुभएको थियो । आमालाई साह्रै बूढी देखें,’ उनले अतीत सम्झे, ‘गाउँभरिका मानिस भेला भएका थिए । उनीहरू कहिले घर जालान् र आमासँग सुख–दुःखको बात मारौं भनेर हतारिएको थिएँ ।’

१२ बज्न २० मिनेट बाँकी थियो । बुवा, आमा र सुदन किराती अँगेनाछेउमै बसिरहेका थिए । कति छिट्टै बूढी हुनुभयो नि भनेर किराती आमालाई सोधे । आमाले तँ पक्राउ परेको महिना दिनपछि सुनें । दैनिकजसो मानिस मरेको समाचारमात्रै सुन्नुपथ्र्यो । मरिस् कि बाँचिस् थाहा भएन । घरभित्र बस्न मन लागेन । उज्यालो हुनासाथ घरबाहिर निस्कन्थें । तेरो बाटो हेरेको हेर्यै गर्थें । रात परेपछि बाटो देखिँदैनथ्यो, घरभित्र पस्थें । जर्किन ९ड्रम० मा राखिएको रक्सी खाँदै भन्थें– बाँचेको छस् भने फर्केर आउनू । मरेको हो भने आज रातभरि तर्साउनू भन्ने आमाको उत्तर सुनाउँदै उनी पुनः भावुक बने । २३ महिना भात नखाएपछि बूढी हुन्न त भन्दा किराती बोल्न सकेनन् । न त सुत्न नै सके ।

दुई–तीन दिनपछि उनी पुनः पार्टी सम्पर्कमा जान घरबाट निस्कन लाग्दा गइस् भने म यहीं झुन्डेर मर्छु भन्दै आमा रुनुभयो । उनले आफू जानैपर्ने बाध्यता सुनाउँदै बाटो लागे । पारि पुगेर हेर्दा आमा घुँडा टेकेर रुँदै गरेकी थिइन् । त्यतिबेला उनले आफैंलाई धिक्कारे– समाज बदल्न हिँडेको तैंले आमालाई त सम्झाउन सक्दैनस् भने क्रान्ति कसरी गर्छस् । सोच्ने तरिका नै रहेछ । त्यतिबेला मैले आत्मसंघर्ष गरेको थिएँ भन्ने सांसद सुदन किरातीसँग  गरेको कुराकानी:

मेरो खाना मलाई मन पर्ने खाना यही हो र यही खान पाऊँ भन्ने छैन । भोक लागेको बेला अघाउन पाए हुन्छ । भोक लागेको बेला भुटेको मकै र मुलाको साग पाए आँत रमाउँथ्यो । सबै मन परे पनि स्वास्थ्यका कारण केही खाना बार्ने गरेको छु । योजनाबद्ध तरिकाले रेष्टुरेन्ट जाने गरेको छैन । रेष्टुरेन्ट पुगिहाल्दा चाउमिन, मःमः माग्छु । फुर्सद हुँदा भान्छामा पस्छु । पाककलाबारे ज्ञान राम्रै छ ।

मेरो पोसाक औपचारिक सभा–सम्मेलनमा जाँदाबाहेक अनौपचारिक कपडा नै लगाउँछु । कपडामा कति खर्च होला, हिसाब–किताब गरेको छैन । एकपटक किनेको कपडा दुई–तीन वर्षसम्म टिक्छ । दिदीबहिनी, छोरीचेली बाहिर छन् । उपहारस्वरूप कपडा पठाइदिन्छन् । कपडा किन्दा कालो रङको किन्ने गरेको छु । उज्यालो रङको कपडा पनि रोजाइमा पर्छन् । कपडा ‘रेडिमेड’ बढी हुन्छन् । छापामार जीवनमा ह्याट लगाउँथें । सांसद भएपछि सयका हाराहारीमा भएको विजयसाभभरि ढाकाटोपी लगाएँ । एक त मंसिरको जाडो, त्यसमाथि मतदाताले लगाइदिएको अबिरको चिसोबाट बच्न टोपी लगाउन बाध्य भएँ ।

मेरो फिटनेस शारीरिक अभ्यासका लागि औपचारिक रुटिन छैन । जनताको घरमा बास बसेको बेला कता शारीरिक अभ्यास गर्नु । साध्यै हुँदैन । तर, सात दिनभन्दा बढी एकैठाउँ बस्न परे कोठैभित्र झन्डै ४५ मिनेट शारीरिक अभ्यास गर्छु । त्यसका लागि कुनै सूत्र छैन । आफूले जे जानेको छु, त्यही गर्छु । डाइटिङ छैन ।

मेरो अध्ययन खुला राजनीतिमा प्रवेश गरेपछि, सांगठनिक जिम्मेवारी थपिँदै जाँदा पढ्ने समय नभएकै हो । जनयुद्धमा पेजैपिच्छे चिनो लगाएर पढिन्थ्यो । हिजोआज आफूलाई चाहिने ‘च्याप्टर’ पढ्ने बानी छ । पहिले एकपटक पढिसके पनि हिजोआज त्यही प्रयोगशाला पढिरहेको छु । राजनीतिक किताब बढी पढे पनि तनाव भएको समय साहित्य पढ्छु ।

मन पर्ने सबै लेखकको नाम उल्लेख गर्न नसके पनि खगेन्द्र संग्रौला, अभि सुवेदी र सुधीर शर्मा मन पर्छ । लेख्ने समय मिलेको छैन । भोजपुर र काठमाडौंमा किताब छन् । तर, संरक्षण गर्न नसकेकाले घट्दै जान्छ । म जुनसुकै सभा–समारोह, बैठकमा पुग्दा कम्तीमा एक किताब किन्ने गरेको छु । म थप्दै जान्छु, मेरो निजी पुस्तकालयका किताब घट्दै जान्छ ।

मेरो घुमफिर पार्टी संगठनको काममा हिँड्दाबाहेक योजनाबद्ध घुमघाममा निस्केको छैन । नेपालका अधिकांश जिल्ला टेकेको छु । म हङकङमा जन्मेको हुँ । मेरो बुवा ब्रिटिस आर्मी हुन् । ब्रुनाई रहँदा नेपाल फर्केको हुँ । सांसद भएपछि धेरै देशबाट निम्ता आए । तर, जान मन लागेन । त्यतिबेला किराती मोर्चा महासचिव भएकाले उसको सम्मेलनमा हङकङ पुगेको थिएँ ।

पूर्वमन्त्री गोपाल किरातीसँग सोलुखुम्बुको नाम्चे हुँदै खुम्जुङ पुगेको थिएँ । घुमेकामध्ये नाम्चे र खुम्जुङ असाध्यै मन पर्यो । उल्लिखित ठाउँ जीवनमा एकपटक पुग्नैपर्ने रहेछ । जीवनमा एकपटक माउन्टेन फ्लाइट गर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

मेरो फुर्सद राजनीतिक नेता फुर्सदिला पनि हुन्छन् रे । फुर्सद कसरी निकाल्ने होला भनेर सोच्छु । मचाहिँ कहिल्यै फुर्सदिलो हुन सकिनँ । यति धेरै व्यस्त रहे पनि मोबाइल ‘स्वीचअफ’ गरेरै आराम गरौं भन्ने कहिल्यै लाग्दैन । गरेको पनि छैन । फुर्सद पाइहालेमा कोठा सफा गरेर भए पनि समय सदुपयोग गर्छु । एक मिनेट अनावश्यक बिताएँ भने पश्चाताप लाग्छ । घरपरिवारलाई समय दिन सकेको छैन । यो विषय उठ्दा संसारका महान् व्यक्तित्वका इतिहास सुनाउँछु । समय–समयमा ‘होम मिटिङ’ गर्छु ।

मेरो खेलकुद खेलमध्ये फुटबल मन पर्छ । त्यसो भन्दा अन्य खेल मन पर्दैन भन्न खोजेको होइन । सामान्य रूपमा फुटबल खेलेको थिएँ । फुटबल खेलाडीमा वसन्त गौचन, हरि खड्का, रोनाल्डो र मेस्सी मन पर्छ ।

मेरो मोबाइल सामसुङको दुई मोबाइल सेट प्रयोग गर्दै आएको छु । एउटा २१ सयमा किनेको हुँ भने अर्कोचाहिँ २७ हजार रुपैयाँमा ‘सेकेन्ड ह्यान्ड’ किनेको थिएँँ । मोबाइल फेरीफेरी बोक्ने बानी छैन । मोबाइलका एप्लिकेसनसँग परिचित छु । मोबाइलमा जोकोहीले गेम खेलेर समय बर्बाद नगरिदिए हुन्थ्यो भन्ने लाग्छ ।

मेरो टेलिभिजन टीभीमा समाचार हेर्छु । टीभी हेर्ने समय बेलुका जुर्छ । इन्च थाहा नभए पनि कोठामा भएको टीभी सार्क हो ।

मेरो चलचित्र पछिल्लोपटक चलचित्र ‘कबड्डी कबड्डी’ हेरेको थिएँ । टीभी, भिसिडीमा चलचित्र हेर्ने गरेको छैन । हेरेकामध्ये कन्यादान, दर्पणछायाँ र कबड्डी कबड्डी असाध्यै मन पर्यो । दयाहाङ राईको अभिनय जीवन्त लाग्छ । पहिलेपहिलेका नायिका हराउँदै गए । करिश्मा मानन्धर राजनीतिमा आउनुभयो । पछिल्लो समयका नायिकाहरूको नाम थाहा छैन ।

मेरो रोग छिट्टै चिसो लाग्छ । जेलमा रहँदा यातना पाएकाले ढाडको समस्या छ । युरिक एसिड र छालाको एलर्जी छ । अहिलेसम्म ‘होलबडी चेकअप’ गराएको छैन । रक्तचाप ‘लो’ छ ।

मेरो भाषणशैली आफूले गरेको भाषणशैली आफैंले मूल्यांकन गर्ने गरेको छैन । मानिसलाई सन्तुष्टि कहिल्यै हुँदैन । भाषण गर्दा थेगो प्रयोग गर्दिनँ । परिस्थिति हेरेर भाषण गर्छु । सर्वप्रथम जनसमुदायको चेतना मापन गर्छु । भाषण गरेकै आधारमा विवादमा तानिएको थाहा छैन । मञ्चमा पुगेपछि भाषणको तयारी गर्छु । पहिले जनसमुदाय हेर्छु । मनोविज्ञान बुझ्छु । कार्यक्रमको शीर्षक हेर्छु । जनसमुदायले सुन्न चाहेनन् भने भाषण छोट्याउँछु ।

मेरो मापसे मादक पदार्थ खाएको छैन भन्न मिल्दैन, आमाको दूधबाट पनि खाएँ हुँला । म एक कक्षामा पढ्थें । बुवाआमा कोदो रोप्दै हुनुहुन्थ्यो । पानी परेछि ओत लाग्न बडाको घर पुग्यौं । त्यहाँ कडा निघार खुवाइदिनुभएछ । त्यतिबेला बेस्सरी बान्ता गरेको थिएँ । त्यसपछि मादक पदार्थको गन्ध मन पर्दैन । पछिसम्म मादक पदार्थको कुरा गर्दामात्रै पनि बान्ता होलाजस्तो हुन्थ्यो । मलाई पान र सुपारीले समेत मात्छ ।

मेरो संगीत गीत–संगीत मन पर्छ तर सुन्न भ्याउँदिनँ । ‘सेन्टिमेन्टल’ गीत गुनगुनाउँछु । नारायणगोपाल, अरूणा लामा, चाँदनी शाह, जेबी टुहुरे, शम्भु राई र राजेशपायल राईका गीत श्रवणीय लाग्छ ।

मेरो भूल मानिस भएपछि जानअन्जानमा गल्ती हुन्छ । सानोछँदा कापी र डटपने किन्न साढे चार रुपैयाँ पैसा चोरेको थिएँ । थाहा पाउनुभएपछि बुवाले खरेटोले हिर्काउनुभयो । धेरै चोट लागेकाले दुई–चार दिन विद्यालय जान सकिनँ । बुवाले पिटेपछि सुदन विद्यालय आउन सकेन भनेर हल्लाखल्ला भयो । त्यतिबेला पश्चाताप लाग्यो ।

मेरो घर पुख्र्यौली घर भोजपुरमै छ । त्यो बुवाको नाममै छ । संवत् २०४० मा बनाइएको घर धमिराले खाइसकेको थियो । माथि काटेर त्यही घर चार वर्षअघि झ्याल, ढोका थपेर आधुनिकखालको बनाएको छु । घरमै काठ भएमाले पुनःनिर्माण गर्न १ लाख ६५ हजार लागेको थियो ।

मेरो राशी आमाले भन्नुभएअनुसार तुला राशी हो । चिना हङकङमै लेखाइए पनि अहिलेसम्म हेराएको छैन । सांसदमा निर्वाचित भएँ ग्रहदशा राम्रै त होला । ग्रहदशा, ग्रहशान्ति गराएको छैन । देब्रहातमा चाँदीको औंठी लगाएको छु । यो औंठीसँग मेरो गहिरो सम्बन्ध छ । सुनसरीको धरानमा बस्थें । जनयुद्धमा जाने तयारी गर्दै थिएँ । मलाई आमाले जत्तिकै माया गर्ने मेरो काकीले दिनुभएकाले यो औंठी लगाएको हुँ । काकीको मायाले ०५६ देखि औंठी लगाउँदै आएको हुँ ।

मेरो सौन्दर्यचेत पहिले कपालमा तोरीतेल लगाउँथे । छालाको एलर्जी भएपछि त्यो पनि लगाउन छाडें । हिजोआज कपालमा लगाउने क्रिम लगाउँछु । कहिलेकाहीं पफ्र्युम प्रयोग गर्ने बानी छ । अहिलेसम्म दुईपटक साउनाबाथ लिएको छु । ढाडको दुखेको बेला छोराले मालिस गरिदिन्छ ।

मेरो प्रेम हाम्रो प्रेमविवाह हो । गाउँघरमा हेराहेर गर्दागर्दै मायाप्रेम बस्यो । प्रेमप्रस्ताव मैले नै राखेको थिएँ । १० कक्षा पास गर्नसाथ बिहे भएकाले अरूसँग प्रेम गर्ने कुरै भएन ।

मेरो सपना विकास र समृद्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना देखेको छु । जहाँ अर्थतन्त्रको दृष्टिले चरमचुलीमा पुगोस् । नेपाली जनशक्ति वैदेशिक रोजगारीमा जान नपरोस् । विदेशी श्रमशक्ति मुलुकमा भित्र्याऊँ । उत्तर–दक्षिण जोड्ने ठुल्ठूला राजमार्ग बनाऊँ । नेपालको ८३ हजार मेगावाट पानी अन्तर्राष्ट्रिय बजारमा बेच्न सकूँ । कृषिलाई आधुनिकीकरण गर्दै औद्योगिकीकरण गर्नुपर्छ । कृषिलाई पर्यटनसँग जोड्नु अपरिहार्य छ । कृषि, पर्यटन र जलस्रोतको तीव्र गतिमा विकास गरेर समकालीन विश्वसँग प्रतिस्पर्धा गर्न योग्य मुलुक बनाउने परिकल्पना गरेको छु ।

म सांसद हुन्छु भनेर हिँडेको होइन । चार महिनाभित्र मर्छु होला भनेर जनयुद्धमा हिँडेको थिएँ । चार महिनाभित्र मरिनँ भने त्यसपछि योजना बनाउँला सोचेको थिएँ । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्छु भन्ने सपना नदेखे पनि राजनीतिमा लागेकालाई ढोका सधैं खुला हुन्छ । यही हुनुपर्छ भनेर मैले राजनीति गरेकै होइन । मन्त्री, प्रधानमन्त्रीभन्दा स्वच्छ छविको शक्तिशाली नेता बन्ने लोभ छ ।

मेरो मृत्यु मृत्यु स्वाभाविक प्रक्रिया हो । देश र जनताका लागि लड्दालड्दै मर्न पाए मृत्युको अर्थ रहन्थ्यो । मृत्युसँग डराउने मानिस काम लाग्दैन । मृत्युको नजिक पुगेका घटना धेरै छन् । ०६१ म पक्राउ परें । व्यारेकमा राखिएको थियो । हातखुट्टा बाँधिएको थियो । आँखामा पट्टी कसिएको थियो । रातिराति कडा यातना दिइन्थ्यो । १७ रात यातना पाएपछि म मर्ने ठाउँ कस्तो रहेछ भनेर हत्कडी सारेर पट्टी उँभो सारें । म त सुरुङमा रहेछु । माथिबाट सेनाको क्यान्टिन रहेछ । सुरुङको गेट झारले छोपिएको रहेछ । यतिबेला मलाई कापी र डटपेन पाए दुवै हातले लेख्थेंजस्तो लाग्यो । २७ रात कुटाइ खाएपछि मैले मृत्युको घोषणा गरें । अब म सहन सक्दिनँ । तर, मेरो मरण अगति हुने भयो । मसम्बद्ध पार्टीले मेरो मृत्युलाई मृत्यु नभनेर बेपत्ता भन्लान् भनेर पर्नु पिर परेको थियो । तर, बाँचें ।

कतिपय अवस्थामा सेनालाई झुक्याएर ज्यान जोगाएको थिएँ । उदयपुरको बलम्ता पुगेको थिएँ । घरपछाडिबाट कुरा गरेर आँगनमा निस्कँदा पोसाकमा रहेका सेनाले घेरा हाले । सादा पोसाकमा रहेका सेना माओवादीका रूपमा प्रस्तुत भए । सेनाले मलाई लालसलाम कमरेड भने । तीनपटक भनेपछि मैले कसलाई भन्नुभएको होला भनेर सोधें । उनीहरूले तपाईं हाम्रो कमरेड होइन भने । मैले होइन भनें । तपाईंको घर कहाँ हो भनेर सोधे । मैले खोटाङ भनें । कता हिँड्नुभएको भनेर फेरि सोधे । हाम्रो कमरेडको आज कन्ट्याक थियो देख्नुभएन भनेर उनीहरू भने । मैले अहँ भनें । अस्तिको दिनचाहिँ पल्लोघर आउनुभएको रहेछ भनेर मैले उनीहरूको ‘माइन्ड डाइभर्ट’ गरिदिएँ । अस्तिको दिनमात्रै आएका थिए भनेपछि हिजोसम्म यतै हुनुहुन्थ्यो रे भन्दिएँ । र पनि, साह्रो पार्न थाले । पार्टीको दस्तावेज साथमै थियो । खानतलासी गरेका भए भेट्थे ।

त्यसपछि घरमा को छन् भनेर सेनाले सोधे । घाम भर्खर झुल्केको थियो । घर तलतिर टारबारी थियो । गाईबस्तु बाँधिएको थियो । चोया काढ्दै गरेका घरमुली दाइ खुकुरीसहित आउनुभयो । सेनाले माओवादी कत्तिको आउँछ भनेर दाइलाई झपारे । उहाँले आज त आउँदैनन् सर भन्नुभयो । कहिले आउँछ भनेर झन् झपारे । त्यतिबेला मेले कुराकानी ‘डाइभर्ट’ गरें । पार्टीको सरहरू हुनुहुँदोरहेछ चिया व्यवस्था गर्नुहोला दाइ, म घाँस काटेर गाईबस्तुलाई लगाइदिन्छु भन्दै हिँडें । त्यो दिन गाउँभरिका मानिस मलाई मार्यो भनेर आतंकित भए रे । कतिपयले गाउँ छाडे । ती दाइले पनि घर छाडे । साँझमा त्यही घर पुगेर मैले आफूले लगाइरहेको ज्याकेट घरको ढोकामा झुन्ड्याएर हिँडेको थिएँ ।

मृत्यु यस्तै होस् भनेर यतिबेला भन्नु आत्मरतिमात्रै हो । तर, मृत्यु गह्रौं होस् भन्ने चाहना छ । त्यो मेरो कर्मले निर्धारण गर्छ ।

राताेपाटीबाट