काठमाडौं/भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गुरुतेजले आफूलाई गोली हान्नु पूर्व पाँच मिनेटको फेसबुक लाइभको क्रममा आफ्नो कोही व्यक्तिसँग जमिनको विषयमा विवाद रहेको र आफूमाथि अन्याय भइरहेको बताएका थिए । उनले अदालतबाट आफूले न्याय पाउने पनि बताए । त्यसपछि उनले आफूलाई गोली हानेका थिए ।

३५ वर्षका गुरुतेजले लाइसेन्स प्राप्त बन्दुकबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यो घटनाको भिडियो फेसबुकमा धेरै मानिसले सेयर गरेका छन् ।