तिमी खुशी हुने बहानामा अरुका हाँसोहरू नलुट्नू । आशा कम गर्नू र मेहेनत गर्न नछाड्नू । धेरै ठूला सपनाहरू भरेर आफूलाई दुःखी नबनाउनू । बदनामको खोल ओडाउन खोज्नेहरू बाट टाढै बस्नू । जासुसीलाई प्राथमिकता नदिनू । भविष्य कसले देखेको छ र?

तर वर्तमानमा आँसु नझार्नू । आफ्नो काममा रमाउनू । सबैलाई सम्मान गर्नू । शत्रुहरूको अगाडि हाँसिरहनू । बस् यति भए पुग्छ । तिमी सधै खुशी रहनू । बा–आमाको चित्त कहिल्यै नदुखाउनू ।

समस्या नभएको यहाँ को छ र? कोही खान नपाएर समस्यामा छन् । कोही राम्रो लगाउन नपाएर । उच्च शिक्षा लिनबाट पनि वञ्चित छन् कति । कसैलाई सन्तान नभएर समस्या छ । कोही धेरै सन्तान भएर समस्यामा छन् । यो दुनियाँ नै समस्याबाट गुज्रिरहेको छ । तिमी मात्र होइन, म पनि आफ्नै समस्या ठूलो देख्छु । झरी पर्दा घरको छानो चुहिनेहरूलाई आफ्नै समस्या छ । खेतबारी बाढीले बगाउनेहरू पनि समस्यामा छन् । खेतबारी भएर बाझो छोड्नेहरू पनि समस्यामा छन् ।

फरक यति हो कसैको समस्या क्षणभरमा समाधान हुन्छ र कोहीको हुँदैन । फोहोर भएको लुगा साब्नले धोएजस्तै समस्याहरू पनि धुन मिल्ने भए मैले र तिमीले मात्र होइन, हजारौँ मानिसहरूले आफ्ना समस्यालाई धोइरहेका हुन्थे होला ।

यहाँ मन्दिर धाउनेलाई पनि समस्या छ , मस्जिद र चर्ज धाउनेहरू पनि समस्यामा छन् । समस्याले कुनै जात, धर्म, लिङगको मान्छेलाई पनि छोडेको छैन ।

बुढेसकाल लागेका हजुरबा–आमाहरू उचित स्याहारसुसार नपाएर समस्यामा छन् । भर्खर जन्मेर आफ्नी आमा गुमाएको बालक दुध चुस्न नपाएर च्याँ च्याँ रोइरहेको छ । जन्मदै समस्यामा परेको ऊ हुर्कँदै गएपछि कति धेरै समस्या झेल्नुपर्छ त्यो बाँच्दै जाँदा थाहा हुन्छ । स्कुल पढ्दा सधैँ बाट्नैपर्ने दुई चुल्ठी कपाल र बाँध्नुपर्ने टाईसँग समस्या लाग्थ्यो । एसएलसी पास गरेपछि कुन विषय पढौँ भन्ने समस्याले सतायो । बाह्र पास गरेपछि फेरि पनि यही समस्या?

ब्याचलर पास गरेपछि पनि भनेजस्तो जागिर नपाउँदा समस्या । यहाँ पढ्नेहरूलाई पनि समस्या र नपढ्नेहरूलाई पनि । घरमा तरकारी पकाउँदा नुन चर्काे भयो भने गाली गर्छन् । नपकाई बस्दापनि छोरी मान्छे भएर घरको कामकाज गर्नुपर्दैन? भनेर गाली गर्छन् । खाना पकाएपनि समस्या र नपकाए पनि समस्या ।

यो समस्यै समस्याले गाँजेको जिन्दगीमा समस्या नै नभएको को होला ? मलाई त्यस्तो मान्छे भेट्नु छ, जोसँग कुनै पनि समस्या नहोस् । राजनीतिक, आर्थिक, मानसिक, सामाजिक सबै खाले समस्याबाट मुक्त भएको होस् ।

जीवनकालमा आजसम्म भेट भएका सबै बुद्घिजिवी समस्या नै लिएर आए । माया प्रेम लगाउने जोडीहरूलाई समय दिन नसकेर समस्या । मााया प्रेम नभएकाहरूलाई भनेजस्तो जोडी नपाउँदा समस्या । त्यही समस्यामा म एकरात नराम्रोसँग मुछिएँ ।

शायद त्यो रातको कुरा अरुलाई समस्या नहुन सक्छ । बत्ति बाल्न खोजें । लोडसेडिङ भएको रहेछ । लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेपनि छिनछिनमा बत्ति जाने आउने क्रम चलिरहन्छ यहाँ । सुत्ने बेला मिलिक्क मिल्केका कारण पनि कतै लाइन सर्ट भएको हुन सक्थ्यो । अठार घण्टा लोडसेडिङ पनि खेपिएकै हो । तर अहिले दुई चार घण्टा बत्ति जाँदा पनि गाह्रो हुन्छ ।

घरमा एक्लै भएकाले पनि धेरै डर लाग्यो । अर्थात्, मध्यरातमा म समस्यामा परेँ । ढोकातिर हेरेँ । केही देखिन । सिरानीले छोपिएको मोबाइल निकालेँ । लाइट बाले । ढोका पछाडि एउटा प्लाष्टिकको भाँडोमा नजर पुग्यो । त्यो चतुर जालमा परेछ । धेरै दिनदेखि घरको टाँसीहरूमा नाचेर हैरान पारेको थियो ।

चारैतिर जाली ढोका भएपनि कता कताबाट बाटो भेटाएर छिर्छन् चतुरहरू । लिसोमा अड्किएर छट्पटाइरहेको थियो चतुर । धेरै ठूलो पनि थिएन । न त बच्चा नै थियो । उठेर मारुँ जस्तो लाग्यो । गजबार लिएर त्यसको टाउकोमा दुईपटक हिर्काएँ । चीँ चीँ चीँ गरेको आवाज कानमा रन्कियो । लिसो रहेको भाँडोसहित त्यसलाई बाहिर निकाले ।

सुनसान रातमा एक्लो ज्यान निन्द्रा लागेन । वाईफाई अन गरुँ भनेपनि बत्ति थिएन । सोलार बल्न छाडेको महिनौँ भइसकेको थियो । त्यो मुसो मैमाथि खनिन आयो भने के हुन्छ ?

अघि आफैँले हिर्काएको मुसो सम्झिएर दिमाखमा अनेकन कुरा खेल्न थाले । एकछिन त डर लाग्यो । आफ्नो बच्चालाई मा–यो भनेर । कतै त्यसका बा–आमा क्षतिपूर्ति लिन मै माथि आक्रमण गर्न आउने हुन् कि । मुसो छट्पटाउँदै थियो । मेरा मनमा भने सोचहरू छटपटाउँदै थिए । एकछिन त किन मारेछु भन्ने पनि लाग्यो । डर भन्ने कुरा पनि कति डरलाग्दो?

मुसो मार्दा यत्रो डर? यहाँ मान्छेले मान्छे मार्ने हिम्मत गर्छन् । एकाएक आफ्नै पे्रमी– प्रेमिका मार्नेहरूको याद आयो । मुसो मार्दा त यति ग्लानि भयो भने मान्छे मार्नेहरूलाई कति हीनताबोधको अनुभव हुन्छ होला ? युद्दकालमा हजारौँ मान्छे मारेका प्रचण्ड कसरी कसरी चैनको निद्रा सुत्छन् होला? अझ बेलाबखत आउने पीडितका समाचारहरूले उनको मनमा छुन्छ कि छुँदैन होला ?

पहिलोपटक कसैको हत्या गरेको अनुभव थियो मेरा लागि । त्यो अनुभव मेरा लागि ठूलै समस्या बनेर आइदियो मध्यराति । हुन त जाबो एउटा मुसो मार्दा डराउने मजस्तै कायर सबै कहाँ हुन्छन् र ! एकाएक आफैले आफैलाई कायर बनाएँ ।

अख्तियारको फन्दामा परेका भ्रष्टचारीहरू पनि दिमाखमा सल्बलाए । लिसोमा टाँसिएको मुसोलाई मारेजस्तै सहजै तिनीहरूलाई पनि मार्न मिल्ने भए के होला ? तिनीहरू मानव जाति हुन् । ब्रह्माण्डकै सघोषित सर्वश्रेष्ट प्राणी । जेल सजायमा परेको मुसोलाई मार्न मिलेजस्तै मान्छेले गलत कार्य गर्दा मार्न मिले के हुन्थ्यो होला । फाँसीको कानून नभएको देशमा यो कसरी सम्भव होला? लिसोमा परेको मुसोलाई नमारेको भए ऊ कतिबेर त्यहीँ छट्पटाउँथ्यो होला? त्यहाँबाट उम्केर पनि भाग्न सक्थ्यो जसरी हाम्रो देशका भ्रष्टचारीहरू उम्किरहेका छन् ।

बिचरो मुसो त म–यो तर मेरो मनको भूत मर्न सकेन । रातको समयमा मानसपटलमा धेरै कुरा खेले र ती कुराले मलाई निदाउन दिएनन् । कति शक्तिशाली रहेछ मुसो, जसले मेरो निन्द्रा भंग ग–यो । मलाई ब्युँझाएर आफू म–यो ।

-कलाकारीताबाट