आज १४ फेब्रुअरी अर्थात् प्रेम दिवस अंग्रेजीमा भ्यालेन्टाइन डे आज हो । संसारका प्रेमिल मनहरुको महान दिवस, जुन दिनले करोडौ प्रेमी प्रेमिकाहरुको आत्माको मिलन गराउँछ ।

नेपाल लगायत विश्वभर यो पर्व हर्सोल्लाहासका साथ एकआपसमा प्रेम साटासाट गरेर मनाइँदैछ । वर्तमान परिभाषामा भ्यालेन्टाइन डे उपहारको माध्यमबाट आफुले मन पराएको व्यक्तिसँग माया साट्ने पर्वको रुपमा लिने गरिन्छ ।

 कतिपय प्रेमिल मनहरु यसै अवसरमा आफूले चाहेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने गर्छन् ।

यस्तैमा अभिनेता दयाहाङ राईले अभिनेत्री श्वेता खड्कासँग यस वर्षको 'भ्यालेन्टाइन डे' मनाएका छन् । उनले पोखराको फेवातालको बिचमा श्वेतालाई गुलाबको फूल दिँदै भ्यालेन्टाइन 'विस' गरे । फूल दिँदै गर्दा दयाले फिल्म 'कान्छी' को प्रेमिल डाइलग बोलेका थिए ।

उता, श्वेताले फूल लिन मानिनन् । उनले प्रश्न गरिन्, 'फूल दिँदैमा माया हुन्छ ?' दयाले उत्तर दिए, 'जे भएपनि राख न ।' दयाको मधुरो वचन सुनेपछि श्वेताले फूल लिँदै 'थ्याङक्यू' भनिन् ।

अहिले यो जोडी फागुन ४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ को प्रचारका लागि मोफसल टुरमा छन् । राजनराज सिवाकोटीको संगीत रहेको ‘चरी चट्ट परि’ र अर्जुन पोखरेलको संगीत रहेको ‘ए कान्छी’ बोलको गीतले पनि यो फिल्मलाई थप प्रतिक्षीत बनाएको छ ।

‘कान्छी’ लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।