मेरो एकजना सेलिब्रिटी साथीकै डिभोर्सको कथाबाट प्रसंग सुरु गर्छु । नाम उल्लेख गर्दिनँ । श्रीमान्–श्रीमती नै सेलिब्रिटी । एक दिन केटीकी आमा बिरामी हुनुभयो । केटीले श्रीमान्लाई गंगालाल हस्पिटल भेट्न जाऊँ भन्दा श्रीमान्ले ‘म मिटिङमा बिजी छु, तिमी गइराख’ भने तर गएनन् । त्यसको तीन दिनमा आमा बित्नुभयो । त्यसपछि त्यही कारणले मेरो साथीले ऊसँग डिभोर्स गरिन् । मेरो ममी बिरामी हुँदा हेर्न नजाने श्रीमान्ले म बिरामी हुँदा कसरी हेर्छ ? उनले डिभोर्स गर्नुको तर्क यत्ति थियो ।

सलिब्रिटी उसै पनि रंगमञ्चमा रमाउने पेसा । उनीहरुका आसपास भेटिने फ्यान र साथी सर्कलले गर्दा परिवारमा अविश्वास जन्माइरहेको हुन्छ । त्यसैले पनि डिभोर्स बढी भइरहेको छ । बिहे भनेको एक शब्दले तोडिने र एक शब्दले जोडिने सम्बन्ध हो । खासमा श्रीमान्–श्रीमतीको सम्बन्ध खुकुरीको धारमा हिँडेको सम्बन्ध हो ।

पछिल्लो समय व्यस्त मान्छे, बराबरी सक्षम मान्छेहरुमा बढी डिभोर्स रेट देखिएको छ । उनीहरु आफ्नो जिन्दगीलाई आफ्नो श्रीमान्–श्रीमतीसँगको पेसा, जीवनसँग तुलना गर्न थाल्छन् । जब तुलना हुन थाल्छ, त्यसपछि समस्या हुने नै भयो । झन् कतिपयको हकमा केटा मान्छेको ‘म हस्बेन्ड हुँ, श्रीमतीभन्दा म माथि हुनुपर्छ’ भन्ने सोचले पनि सम्बन्ध टुक्राइरहेको छ ।

संसारमै बाहिरबाट हेर्दा महिलाका कारणले बढी डिभोर्स भएको जस्तो देखिन्छ तर गहिरिएर भित्र जाने हो भने त्यहाँ परिवार, श्रीमान्, सामाजिक परिवेश मुख्य कारण भइरहेको हुन्छ ।

संसारमै सेलिब्रिटी भनेको तलमाथि हुने वर्ग हो । उसको करिअर र जिन्दगी जसरी तलमाथि हुन्छ, त्यसकै प्रभाव सम्बन्धमा पर्न थाल्छ । नेपालमा अझै पनि ‘बिहे भनेकै जीवन हो’ भन्ने ट्याग भिराइएको छ ।

समाजको डरले, आज नभए भोलि राम्रो होला कि भन्ने आश, बालबच्चाको भविष्य हेरेर जतिसुकै अप्ठेरो अवस्थामा पनि सम्बन्धहरु टिकिरहेका हुन्छन् । मनोज गजुरेल र उनकी पत्नीको हकमा पनि खटपटका बीच २२ वर्षसम्म सम्बन्ध लम्बिएर पूर्णविराम हुनुमा यस्तै कारणहरु हुन सक्छन् ।

कतिपय अवस्थामा अवसर हेरेर पनि डिभोर्स भइरहेको हुन्छ । फकाएर जग्गा आफ्नो नाम लिन्छु अर्थात् अल्टरनेटिभ अप्सन बिल्डअप भयो भने मात्र डिभोर्स गर्छु भन्ने सोच पनि हुनसक्छ ।

अहिले एक्स्ट्रा म्यारिटल अफेयर पनि डिभोर्सको अर्को खतरनाक कारण हो । झन् सेलिब्रिटीहरु त धेरै खाले मान्छेहरुसँग ठोक्किनुपर्छ । जबसम्म सम्बन्धमा विश्वास, विवेक, केयर र टाइम म्यानेज गरिँदैन त्यो सम्बन्ध लामो समय टिक्न सक्दैन । बिरामी हुँदा तातो पानी मात्रै दिँदा पनि हुन्छ भन्ने कुरा विवेक अर्थात् केयरिङभित्र पर्छ ।

मनोज र मीनाको डिभोर्सको केसमा पनि मीनाको इन्टरभ्यु हेर्दा उनले मनोजलाई सफल बनाउन धेरै गरेको तर मनोजले आफू र आफ्नो चाहनालाई सम्मान नगरेको आशय देखियो । पश्चिमी मुलुकतिर श्रीमतीले कमाएको पतिलाई र पतिले कमाएको पत्नीलाई केही थाहा नै नहुने अवस्था भइसक्यो । नेपालमा पतिले कमाएको पत्नीका लागि पत्नीले कमाएको पतिका लागि भन्ने सोच हावी छ ।

डिभोर्स ठूलो कारणले हुँदैन । सानो कुरा नै ठूलो हुँदै डिभोर्सको कारण बन्ने हो । यस्तोमा सधैँ महिला मात्र अन्यायमा पर्दैनन्, पुरुष पनि पर्न सक्छन् ।

बिहे र डिभोर्स हामीकहाँ एकदमै क्लिष्ट (कम्पिलकेटेड) भइरहेको छ । हामीकहाँ डिभोर्स पर्सनल तहमा भन्दा पनि सामाजिक तहमा भइरहेको छ । जबसम्म हाम्रो सामाजिक संरचना, मूल्य मान्यता र पुरुष–महिलाको हाइरार्की परिवर्तन हुँदैन डिभोर्स रेट घट्दैन, झन् बढ्नेछ । (शुक्रवार साप्ताहिकबाट)