-
Home
-
राजनीति
-
एक झोला इन्द्रेणी र मुकुन्द प्रयासका पाँच कविता
एक झोला इन्द्रेणी र मुकुन्द प्रयासका पाँच कविता
- फाल्गुन ५, २०७४
- ब्लाष्ट खबर
कवि मुकुन्द प्रयास साहित्य सिर्जनामा प्रख्यात नाम हो । २०२५ सालमा धनकुटाको मुगाहामा जन्मिएका उनको कविता कर्ममा विशेष दख्खल छ । उनी चित्रमा त झनै अब्बल छन् । पूर्वाञ्चलबाट प्रकाशन हुने प्राय साहित्यिक कृर्तिहरुमा उनकै कला कृतिले आवरण सजिएका हुन्छन् । सरल र सुन्दर कविता लेख्ने कवि मुकुन्द प्रयासको ‘एक झोला इन्द्रेणी’ कविता संग्रह बजारमा आएको छ । उक्त कविता संग्रह षडानन्द प्रतिभा पुरस्कार विराटनगरद्वारा पुरस्कुतसमेत भइसकेको छ । उनका कविता जति सरल छन् त्यतिकै भावुक, गम्भीर, सद्भाव र राष्ट्रप्रेमले ओतप्रोत छन् । त्यही भएर पनि उनको कविता पठनीय छन् ।
धनकुटामा रहेर साहित्यिक गतिविधिलाई निक्कै शसक्त रूपमा अघि बढाउँदै आएका मुकुन्द प्रयास कविता वाचन पनि उत्तिकै मिठासपूर्ण ढंगले गर्छन् । उनको अगुवाईमा धनकुटामा निक्कै ठूलठअूला कार्यक्रम हुने गरेका छन् । विभिन्न साहित्यिक संघसंस्थामा रहेर निरन्तर साहित्य सेवामा समर्पित छन् । उनै मुकुन्द प्रयासका ५ वटा कविता यहाँ प्रस्तुत गरिएको छ ।
१. सहर आउ सारङ्गीहरु
अनिकालले आक्रान्त सहरमा
आउ भोका सारङ्गीहरु
यहाँ खानको लागि भोकैभोकको डङ्गुर पाइन्छ
के बसिरहनु गाउँमा
ताजा तरकारी, स्वच्छ हावा, सफा पानी पिएर ।
सहरमा लडियो भने पनि बजारिन्छ टाउको
सिमेन्टेड बाटोमा/भित्तामा
सहरमा त मुत्यु पनि बेखबर हुन्छ
सबैले थाहा पाउने गरी के मर्नु गाउँमै
यता लडे पनि समाउने खरुकीको बुटो
उता पछारिए पनि अड्किने बाँस झ्याङ
काफल खाए पनि बाँचिन्छ
खन्युका दाना चपाए पनि तङ्रिइन्छ
बाँचेकै त हुन् सबै पुर्खौं पुर्खादेखि
वेतेनी पँधेराको पानी पिएर
आउ सहरमा सारङ्गीहरु
के बसिरहनु गाउँमै
माली गाईको दूध
भाँच्दा भाँच्दै पोलेको मकै चपाएर ।
सहरमा त विरानोपनमा तड्पिन पाइन्छ
बाल्न पाइन्छ टायर विरोधमा
लथालिङ्ग बोल्न पाइन्छ विपक्षमा
बेइमानी बेचेर पनि इज्जत जाँदैन
न्यानो हार्दिकता पालेर केबसिरहनु गाउँमै
आफ्नै आफ्नाको माझमा
आफ्नै आफ्नाको मायाले पुलपुलिएर ।
सुसेल्दै सल्लाको फेदमा
के रेटिरहनु सारङ्गी
र बारीका डिल डिल ,
कान्ला कान्ला नाच्दै
के गाइरहनु प्रेमगीत चप्लेटीमा ।
२.घण्टी र मन्दिर
मन्दिरमा घण्टी बज्नुभन्दा पहिले
घण्टीको आवाज सुनिएन
घण्टी बनाउनु भन्दा अघि
घण्टी बनाउने पनि चिनिएन
जब घण्टी बज्न थाल्यो
घण्टी बजाउने मन्दिर भित्र देखियो
घण्टी बनाउने मन्दिर बाहिरै छेकियो ।
३. हराएको कविता
यी हाडहरु खिइए
उता परेला भिजे
यस्तो बेला राग हराउँछ
अनुराग हराउँछ ।
पर्दैन सप्तकोसी टाल्न
मधेस बगाए के भो
उता आप्पा सगरमाथा चढेको चढ्यैछन्
म धनकुटामा बसेर
धरान गुडेको माइक्रो नियाल्छु
हिले उक्लिएको ट्रयाक्टर पछ्याउँछु
यही त रहेछ जिउनुको उपक्रम
यस्तो बेला हिसाव हराउँछ
बेहिसाव हराउँछ ।
मेरो सपनाको ईन्द्रधनुष
जति तन्काए पनि हुन्छ,
त्यहाँ मान्छेको बेइमानी गन्हाउँदैन
तमोर/लेउतीको बालुवा खोस्रनु पर्दैन
इमान्दारितापूर्वक रिस देखाउनु पनि पर्दैन ।
यहाँ उभिएर
तमाम अस्थिपञ्जरहरुसँग
मेरो कविता साट्दीन
आज झमक पढ्नुपर्ने बेला
म धनकुटालाई कविता सुनाउँदिन
यस्तो बेला
काव्य हराउँछ
कविता हराउँछ ।
४.बाडुलीमा तिमी
मनको कुन गहिराइबाट सम्झियौ ?
कि ढुकढुकीको उचाइबाट ओर्लिएर सुम्सुम्यायै ?
छोराहरु नै बिर्सिएकी
आमाले सम्झिइनन् पक्कै
भर्खरै चिया पिएर
तात्तातै हात हल्लाउँदै छुटेकी
सहपाठीले भ्याएकै छैनन् सम्झिन ।
कुनै म्यान पावर कम्पनीमा
सम्झिने मन बन्धक राखेर
परदेश उडेको साथीको सम्झना पनि हैन ।
कहिल्यै जस नपाएको सेतो कापाल
फोटोकपी गरेर
स्थायी जागिरको निम्ति हतारिदै
तालुकदार अड्डा धाइरहेका
मेरा शिक्षकले पनि सम्झिएनन् ।
मेरा अक्षरहरु किन्ने
ग्राहकले सम्झिएको पनि हैन
भाडा माग्न घरवेटीले सम्झिन
अझै बाँकी छ एक साता
र बाँकी छ
सयपत्रीको माला गाँस्ने दिन आउन ।
पक्कै गुञ्जिएको हुनुपर्छ
तिम्रो अन्तस्करणमा
गोठालोमा बजाएको पिपिरिको पात
असारे भाका ,
पूजापछि जाग्राम बसेको रात
र उज्याले पर्खिदै खेलेको जुहारी
तिमीले नै हुनुपर्छ सम्झिइएको
आत्मिय लागिरहेछ सम्झना
आज धेरैपछि लागिरहेछ
हिक्कहिक्क बाडुली ।
५.र छुट्न नहुने बुँदाहरु
यसपालि
लेखिएछ भने संविधान
नछुटुन् तपशिलका बुँदाहरु ।
पहिलो बुँदामा
सडक नखनियोस् भनेर लेखियोस्
सडकले जम्मै खोस्यो
भारी बोकेर खाने अधिकार
यो देशको नागरिकले
भारी बोकेर पनि खान नपाउनु ?
दोस्रो बुँदामा लेखियोस्
रेमिट्यान्स भित्रिन नपाउने कुरा
युवाको कमाइले देश चल्न हुँदैन
देशले आफैँ श्रम गर्न पाउने अधिकार सुनिश्चित होस् ।
तेश्रो बुँदामा
औषधी र अस्पताल बन्द गरियोस् भनेर लेखियोस्
उपचारले बाँचिने आशामा
सुदुर अस्पताल दौडाएको बिरामी बाटैमा नमरोस्
घरैमा मर्न पाउने अधिकार सुनिश्चित होस् ।
चौथो बुँदामा
विद्यालयहरु बन्द गरियोस् भनेर लेखियोस्
बुझ्नु हुँदै सत्य कुरा बालकले ।
पाँचौं बुँदामा लेख्ने कुरा
सोध्नुपर्छ आमाहरुलाई
दिदीहरुलाई
भाउजुहरुलाई ।
छैटौँ बुँदामा
प्रेमीका गुनासाहरु छन्
र छन् असहमतीहरु
बाढीबाट बोगिएकाहरुको
गोलीबाट बचेकाहरुको
जोगिन गाह्रो आँखाहरुको
मनहरुको
ढुकढुकीहरुको
रातो रङको ।
अटेछ भने कुनै बँदामा
लेखिदिनु कविता लेख्नेहरुको कुरा ।