गएको हप्ता प्रदर्शनमा आएको युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘कृ’ पछि काठमाडौं लगायत देशभरका अधिकांश हलमा ‘कान्छी’ हेर्ने दर्शकको भीड गज्जब देखिएको छ । शुक्रवार रिलिज भएको अभिनेत्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा) स्टारर यो फिल्मले शनिवार आक्रामक व्यापार गरेको छ ।

शुक्रवार ६५ प्रतिशत रहेको फिल्मको अकुपेन्सी शनिवार करीब शतप्रतिशत छ । बिहानको ११ बजेको शोमा काठमाडौंको गोपीकृष्णका दुईवटा पर्दा हाउसफूल थिए भने २ बजेको शोमा गोपी, ओम, नमः र शिवाय हल हाउसफूल भएको वितरक गोपाल कायस्थले जानकारी दिए ।

शनिबार बिहानैदेखि काठमाडौंका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिएका छन् । काठमाडौंका जय नेपाल, कुमारी, सिभिल, लबिम, बीग मुभिज जस्ता मल्टिप्लेक्समा फिल्म हेर्ने दर्शक टनाटन छन् ।

राजधानीका अष्टनारायण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा ‘कान्छी’ ले पकड जमाएको छ । शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका छन् । दर्शकको उत्साहजनक उपस्थितिका कारण आइतवारबाट मल्टिप्लेक्समा फिल्मले थप शो पाउने खबर प्राप्त छ ।

काठमाडौं बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । फिल्मका प्रमुख कलाकार श्वेता, दयासँगै अभिनेता प्रज्जवल सुजल गिरी र निर्देशक आकाश अधिकारी शनिवार दिउँसो साढे १ बजे गोपीकृष्ण हल पुगेका थिए ।

त्यहाँ श्वेता र दयाहाङसँग सेल्फी लिन दर्शकको क्रेज खुबै देखिएको थियो । बडिगार्डसहित गोपीकृष्ण हल छिरेकी श्वेताले दर्शकलाई धन्यवाद दिँदै 'चरी चट्ट परि' गीत गाइन् । दर्शकले पनि उनलाई साथ दिए ।

उनले भनिन्, ‘तपाईहरुको मायाले गर्दा म फेरि जन्मिएकी हुँ । यसरी नै सधैभरी यहाँहरुको साथ पाइरहुँ ।’ उनले कहिले पनि आफू फिल्म क्षेत्र छाडेर टाढा नबस्ने पनि दर्शकसँग बाधा गरिन् ।

यस्तै, अभिनेता राई र प्रज्जवलले पनि उत्साहजनक साथका लागि दर्शकलाई धन्यवाद दिए । फिल्म हेर्ने अधिकांश दर्शकले दया र श्वेताको केमेष्ट्रीको तारिफ गरेका छन् । प्रज्जवल र विनोद न्यौपानेको अभिनयलाई पनि दर्शकले खुब मन पराएका छन् ।

फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह-निर्माताको रुपमा रहेका छन् ।

याम थापाको स्क्रिप्ट रहेको ‘कान्छी’ मा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।

फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत रहेको फिल्मका सबै गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।