काठमाडौं/ वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा सन् २०१८ को दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ देखि ४० वर्ष उमेरका युवा छन्।

क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। सुतिरहेकै बेला श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या धेरै छ। सन् २०१८ को जनवरीमा भने सबैभन्दा धेरै करेण्ट लागेर, जलेर, ढलमा खसेर र कुटपिटमा परेर मर्नेको खंख्या २१ छ।

सात जनाले आत्महत्या गरेका छन् भने सवारी दुर्घटनामा परेर तीन र सुतेकै ठाउँमा श्वासप्रश्वास बन्द भएर ज्यान गुमाउनेको संख्या दुई छ। फेब्रुअरीमा सबैभन्दा धेरै अन्य शीर्षकमा मृत्यु हुनेको संख्या १३ छ। श्वासप्रश्वास बन्द भएर टीबी, निमोनियालगायतबाट पाँच जनाको ज्यान गएको छ।

उद्योगमा काम गर्दा घाइते भएर दुई जनाको मृत्यु भएको दूतावासको तथ्यांक छ। सन् २०१७ मा तीन सय ५१ पुरुष र तीन महिलाको मृत्यु भएको थियो। दूतावासका अनुसार सोही वर्ष करेण्ट लागेर, जलेर, ढलमा खसेर, कुटपिटमा परेर मर्नेको संख्या एक सय ८९ थियो आत्महत्या गर्नेको संख्या ६४ र श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या ६१ थियो भने दुर्घटनामा ज्यान गुमाउने २६ थिए। सन् २०१६ मा तीन सय ९२ नेपालीको मृत्यु भएको थियो जसमा तीन सय ८४ पुरुष र आठ महिला थिए।