बाघ निर्माता भनिने छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको प्रेमको खबरले गएको बर्ष जसरी नै यस बर्ष पनि फिल्म क्षेत्र तरंगीत बनेको छ । जति बेला फिल्म रिलिजको मुखमा हुन्छ तब यी दुईको प्रेम र बिवाहको खबर चर्चाको विषय बन्ने गर्छ ।  हुनत, धेरै पटक यो कपलले मिडियामा नै चाँडै बिहे गर्ने उद्घोष गरिसकेका छन् ।

केही महिना अगाडि शिल्पाले फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा छविराज ओझासँग यसै वर्ष बिवाह गर्ने बताएकी थिइन् । छविराज पनि शिल्पाको परिवारसँग औपचारिक कुराकानी भइसकेको र अब बिहेको मिति मात्र 'फिक्स' गर्न बाँकी रहेको बताउँदै हिँडेका छन् । यस्तैमा यतिबेला यी दुईको सम्बन्धमा दरार उत्पन्न भएको गाइँगुइँ चर्चा चल्न थालेको छ ।

फागुन २५ गतेबाट छवि निर्मित तथा शिल्पा अभिनीत फिल्म 'मंगलम' प्रदर्शनमा आउँदैछ । हाल शिल्पा र छवि यही फिल्मको प्रचारमा राम्रै दौडिरहेका छन् । यसै शनिवार निर्माता ओझाले सञ्चालनमा ल्याएको 'कान्तिपुर फिल्म एकेमेडी' मा फिल्म 'मंगलम' को विषयमा जानकारी दिन 'फिल्मीखबर' लाई डाकिएको थियो ।

शिल्पा र छविको संयूक्त अन्तर्वार्ता लिन खोज्यो तर शिल्पा मानिनन् । उनले बिवाहकै प्रसंग निस्कन डरले छविसँग एकसाथ अन्तर्वार्ता दिन हिचकिचाइन् । त्यसबेला छविराज भने शिल्पासँग अन्तर्वार्ता दिने मूडमा थिए ।

शिल्पाले अस्वीकार गरेपछि छविराज रिसाए । विवाहको प्रसंगलाई मुख्य बिषय नबनाउने हाम्रो बाचापछि शिल्पा अन्तर्वार्ता दिन तयार भईन् तर उता छविले मानेनन् । 'शिल्पाले अन्तर्वार्ता दिन नमाने मैले चाहिँ किन दिने ?' भन्दै छविराज त्यहाँबाट बाहिरिए ।

यो सबै मिडियामा छाउनका लागि देखावटी गरिएको थियो वा वास्तविकता नै हो ? त्यो भने बुझ्न सकिएन । तर, त्यहाँको घट्ना हेर्दा भने यी दुईको सम्बन्ध अहिले ठिकठाक नभएको अनुमान लगाउन सकिन्छ । फिल्म 'लज्जा' रिलिजको समयदेखि नै शिल्पा र छविराजको प्रेम र बिवाहको खबर बाहिर आइरहेको छ ।