पथरी । मोरङ पथरीशनिश्चरे नपाका एभरेष्ट अंग्रेजी आवासीय माध्यामिक विद्यालयको विज्ञान तथा प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुको कला देखेर अभिभावकहरु दङ्ग परेका छन् । शनिबार देखि सुरु भएको कार्यक्रममा विद्यालयले आइतबार प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका विद्यालयको निर्देशक रविन कन्दङवाले बताए । विद्यालय परिषरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । कला प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक स्मार्टसिटी, बोटानिकल गार्डेन, रोबर्ट, पानीबाट चल्ने हाइड्रोलिक जेसीबी, डोजर, विज्ञान सम्बन्धी विभिन्न सामाग्री, खेति किसान र घरमा आवश्यक विभिन्न सामाग्री प्रदर्शनीको लागि राखिएको थियो । विद्यार्थीहरुले बनाएको सामाग्री देखेर अभिभावक दङ्ग परेको अभिभावक अर्जुन जम्मेली राई बताउँछन् । कक्षा १२ का विद्यार्थीहरुले होलोग्राम, ३डी फिल्म समेत प्रदर्शनी भएका थिए । प्रदर्शनीमा राखिएको मध्ये बोटानिकल गार्डेन र स्मार्टसीटी अवलोकन कर्ताहरुले निक्कै मन पराएको विद्यालय निर्दैशक कन्दङ्वा बताउँछन् । पथरीशनिश्चरे नगरपालिका र लेटाङ नगरपालिका जाँते लगायतको १० वटा निजी विद्यालयबाट प्रदर्शनी अवलोकन गर्न आएका थिए । अन्य विद्यालयको विद्यार्थी, अभिभावक गरी जम्मा हजार बढीले प्रदर्शनी अवलोकन गरेको प्रिन्सिपल शान्तिराम तिम्सिनाले बताए । कक्षा युकेजी देखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका सिर्जनाहरु २३ वटा स्टलमा राखिएको थियो । हेरिसकेपछि भिजिटरहरु मार्फत स्टललाई भोट दिने व्यवस्था मिलाइएको थियो । भोटिङको आधारमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिने विद्यालयले जनाएको छ । विद्यालयको ३२ औ बार्षिक उत्सवको अवसरमा आयोजित तीनदिने कार्यक्रमको पहिलो दिन अविभावकवीच खेलकुद, दोस्रो दिन विज्ञान कला प्रदर्शनी र अन्तिम सोमबार बृहत साँस्कृतिक कार्यक्रम गरी समापन हुने भएको छ ।