विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक विकास र समृद्धिकोे एजेण्डमा सिङ्गो ध्यान, शक्ति समय खर्च गर्नुपर्ने बताएका छन् । उनले राजनैतिक क्रान्ति पुरा भएकोले अब आर्थिक क्रान्तितर्फ अगाडी बढनुपर्नेमा जोड दिए ।

विराटनगरमा आइतबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संगठनले संयुक्त रुपमा गरेको मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत कार्यक्रममा बोल्दै राईले विराटनगरको भित्री तथा बाहिरी सडकको अवस्था तत्काल सुधार गर्नुपर्ने बताए ।

‘जतातजै अस्तव्यस्त छ, राजधानी तोकिएको छ, यस्तो हुनुहुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘सडक सुशासन लागू गर्नुपर्छ, मूल सडक होस् या भित्री सडक होस् यसको व्यवस्थापन आवश्यक छ ।’ राईले फुटपाथका बजार पसलको व्यवस्थापन गराउन आवश्यक भएको उनले बताए ।

थोरै किलोमिटरमा भएपनि सडक सुशासन लागू गर्ने बताउँदै राईले विराटनगर–रानी–किमाथांका सडक निर्माण पहिलो प्राथमिकता रहेको बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने बताए । ‘विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनु पर्छ, १ नम्बर प्रदेशका सबै जिल्लामा यहाँबाट हवाइ सेवा दिने गरी क्षमता विस्तार गर्नु आवश्यक छ,’ मुख्यमन्त्री राईले भने ।उनले १ नम्बर प्रदेशको उर्जाक्षेत्रको विकासका लागि तत्कालिन र दीर्घकालिन समाधान खोजिने बताए ।

‘हाल भइरहेको विद्युत् चुहावट नियन्त्रण गर्न तत्काल पहल हुनेछ,’ राईले भने, ‘कृषि, पर्यटन, जलस्रोत, उद्योग र व्यापारलाई जग बनाएर मात्रै समृद्धि आउँछ भन्ने कुरामा हामी प्रष्ट छौं ।’ मुख्यमन्त्री राईले प्रदेश सरकार नीजि क्षेत्रसँग नियमित संवाद र छलफल गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री हिक्मत कार्कीले १ नम्बर प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने र लगानीको वातावरण निर्माण गर्न आवश्यक कानून बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताए । ‘अबको सरकारले ४० अरब बराबरको कृषि वस्तु आयात रोक्नुपर्छ,’ उनले भने, ‘पाँच वर्षभित्र विकासका आधारभूत संरचना निर्माण गरिसक्ने र २०÷२५ वर्षभित्रमा सबैभन्दा समृद्ध प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आर्थिक विकास र समृद्धिका लागि आफू नीजि क्षेत्रसँग सँधै छलफलमा रहेर काम गर्ने बताए । संघीयताको विषयमा आर्थिक भार बढी पर्ने र संकट हुने विषय सार्वजनिक भइरहेको भन्दै उनँले त्यस्तो संकटलाई रोक्न र संघीयतालाई समृद्धिको पर्याय बनाउन लाग्ने बताए ।

कार्यक्रममा बोल्दै समाजिक विकास मन्त्री जीवन घिमिरेले दक्ष जनशक्ति उत्पादनका लागि आफू तयार रहेको बताए । ‘उद्योग धन्दा स्थापना गर्नका लागि यहाँ कति जनशक्ति चाहिन्छ,’ घिमिरेले भने, ‘त्यसको लागि ५ वर्ष कुर्नुहोस् कति डाक्टर, कति इन्जिनियर मेरो जिम्मा भयो ।’

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले प्रदेशलाई उन्नत र समुन्नत बनाउनका लागि आफू प्रतिबद्ध भएको बताए । दिगो औद्योगिक विकासका लागि ऐन, कानून निर्माण गर्ने, निर्यातको सहज वातावरण सिर्जना गर्ने, जडिबुटी, वनको उचित प्रयोग गर्ने कुरामा हाम्रो ध्यान जाने उनले बताए ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अस्थायी राजधानीलाई स्थायी बनाउनु पर्ने बताए । यसका साथै प्रदेशको पूर्वाधार विकास, जलस्रोत, पर्यटनलगायतको क्षेत्रमा लगानीको वातावरण बनाउन सरकारसमक्ष आग्रह गरे ।

कार्यक्रममा बोल्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, कृषिको आधुनिकीकरण, उर्जा क्षेत्रको विकास र औद्योगिक वातावरण निर्माण गर्न माग गरे ।