भोजपुर । भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजना संरक्षणको अभावमा अलपत्र परेको छ । बिग्रिएको करीब ८ वर्ष हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का सामग्री कवाडीमा परिणत भएका छन् । विद्युत्गृह २०३८ देखि सञ्चालनमा आएको थियो ।

भोजपुरमा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाउँमा विद्युत् वितरण गरिरहेको आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो । बन्द भएको लामो समय हुँदा पनि आयोजना सञ्चालनमा ल्याउन कसैले चासो दिएको छैन । सरकारले निजीक्षेत्रलाई विद्युत्गृह हस्तान्तरण गर्ने क्रममा सो आयोजना पनि भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरेको थियो ।

त्यसपछि समितिलाई नेपाल विद्युत् प्राधिकरणले मर्मत खर्चबापतको करीब २ करोड रकम भुक्तानी नदिएको भन्दै मुद्दा लगायो । समितिले पनि भाडा नदिएको भन्दै विद्युत् प्राधिकरणविरुद्ध मुद्दा हालेको थियो । दुवै पक्षको विवादको शिकार भने आयोजना बनेको छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख खगेद्र भण्डारीले प्राधिकरण र समितिबीचको मुद्दामा फैसला भएपछि पुनर्निर्माणको काम अगाडि बढ्ने बताए ।

जिल्लामा केन्द्रीय प्रसारणलाइन नजोडिँदासम्म सो विद्युत्गृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो । स्थानीय स्तरमा विद्युत् विस्तार गर्नुपर्नेेमा मर्मतसम्भार गरेर सञ्चानमा ल्याउन सकिने विद्युत्गृहको सामान कवाडीमा परिणत हुँदा पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयको भनाइ छ । समस्या बुुझेर त्यसको समाधान गर्दै मर्मत अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिए । आयोजनाले तत्कालीन समयमा २ सय ५० किलोवाट विद्युत् उत्पादन गरिरहेको थियो ।