शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको अभिनेत्री श्वेता खड्का (कान्छी) र अभिनेता दयाहाङ राई (हिरा) स्टारर फिल्म ‘कान्छी’ ले दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको दुई दिनमा झन्डै ८५ लाख आसपासको कलेक्सन गरेको फिल्मले रिलिज अगावै आफ्नो लगानी भने सुरक्षित गरिसकेको थियो ।

ब्राण्ड पार्टनरबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट निर्मात्री श्वेता खड्काले १ करोड २२ लाख हात पारिसकेकी छिन् । यसकारण, अहिले फिल्मले बक्सअफिसबाट पाउने ट्याग (हिट, सुपरहिट र एभरेञ्ज) का लागि मात्र हलमा संघर्ष गरिरहेको छ ।

नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि झन्डै २ वर्ष शोकमा डुबेकी श्वेताको यो कमब्याक फिल्म भएका कारण पनि धेरैका लागि ‘कान्छी’ प्रतिक्षीत थियो । आइतवार फिल्मको राजधानीको कुमारी हलमा ‘सेलिब्रेटी रेड कार्पेट शो’ गरिएको छ ।

मह जोडी, निर्देशक दीपाश्री निरौला, हास्यकलाकार शिवहरी पौडेल, बाल कलाकार अनुभव रेग्मी, माओवादी केन्द्रका नेता अग्नि सापकोटा तथा विभिन्न संघ संस्थाका व्यक्तिहरु ‘सेलिब्रेटी शो’ मा उपस्थित थिए ।

‘मलाई त ‘कान्छी नै राम्रो लाग्यो’, वरिष्ठ अभिनेता हरिवंश आचार्यले भने- ‘श्वेताले मुटु निचोर्नु भएको छ । कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायांकन पक्ष सबै राम्रो छ ।’ ‘पुरानो धारको भएर पनि नयाँ चिजलाई अंगालेको छ’, मदनकृष्ण श्रेष्ठले ‘कान्छी’ बारे छोटकरीमा प्रतिक्रिया दिए ।

यता, निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन् । ‘कान्छी’ हेरिरहँदा मैले श्रीदाईलाई सम्झिए’, भावुक हुँदै दिपाले भनिन्, ‘श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नु पर्छ ।’

स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकै जिल्लाबासी माओवादी केन्द्रका नेता सापकोटाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । ‘फिल्मको कथावस्तु र अभिनय राम्रो छ’, सापकोटाले भने, ‘फिल्म हेर्न थालेपछि अन्तिमसम्म समय बितेकै थाहा भएन ।’

'कान्छी’ लाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ ।

यो फिल्ममा कामेश्वर चौरासिया, नीर शाह, अनु शाह, अशान्त शर्मा, विनोद न्यौपाने, प्रज्जवल सुजल गिरी, तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठ लगायतको पनि प्रमुख भूमिका छ ।