भोजपुर/ ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सार्वजनिक कार्यक्रमका आफूले बोलेको भनाईलाई रेकर्ड नगर्न सञ्चारकर्मीलाई चेतावनी दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा निकालिएको प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सामुदायिक भवनमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा आलेले आफूले व्यवहारिक कुरा गर्ने भन्दै स्थानीय सञ्चार माध्यमले राखेको भ्वाइस रेकर्डर हटाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफ्ना भनाईको रेकर्ड नगर्न भन्दै सञ्चार माध्यमहरुले  राखेका विद्युतीय सञ्चार उपकरण आफैले हटाएका थिए । जनप्रतिनिधिले बोलेका कुरा आम श्रोता तथा दर्शकले जान्न पाउने कुरालाई बेवास्ता गर्दै आलेले गरेको यस्तो कार्यप्रति सञ्चारकर्मीले आपत्ति जनाएका छन् ।

यस अघिका विभिन्न सार्वजनिक कार्यकक्रमहरुमा मेयर आलेले आफ्नो पदीय जिम्मेवारी भन्दा बाहिर गई प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने किसिमको पत्रकारिता माथि टिकाटिप्पणी गर्दै आएका थिए ।

साभार ः UjyaloOnline