चतरा/ बराह नगरपालिकामा लागुऔषध दुर्व्यसनीकाे संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षमा नगरमा १२ जना लागुऔषध दुर्व्यसनीविरुद्ध मुद्दा दायर गरिएको छ भने चार जना धरौटीमा छुटेका छन् ।

यस अघि आव ०७३–७४ मा १६ जनामाथि मुद्धा दायर गरिएको थियो । ११ जना धरौटीमा छुटेका थिए भने पाँच जनालाई जेल चलान गरिएको थियो । नगरमा लागु औषध दुर्व्यसनीको संख्या ६ महिनाको अवधिमा आएको यो तथ्यांकलाई हेर्दा बढ्दो क्रममा रहेको अनुमान गर्न सकिने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अभय जोशीले बताए ।

लागुऔषध प्रयोगकर्ताहरुलाई खोजी गरी सुधारगृह पठाउने प्रहरीको अभियान रहेकाले यो तथ्यांक बढ्न सक्ने प्रहरी निरीक्षक जोशीको भनाइ छ । लागु औषध र साइबर क्राइम बारे जानकारी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको सहयोगमा वराह नगरपालिका २ बयरवन स्थित हिमालयन इंलिस स्कुलले लागु औषध र साइबर क्राइम बारे जनचेतनामृलक कार्यक्रम गरेको छ ।

स्कुलले आफ्ना अभिभावक तथा विद्यार्थीलाई लक्षित गरी कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक आलोक श्रेष्ठले बताए । जनचेतनामा प्रहरी निरीक्षक अभय जोशीले लागुऔषध र दुर्व्यसनका बारे सहजीकरण गरेका थिए भने प्रहरी नायब निरीक्षक योगेन्द्र श्रेष्ठले साइबर क्राइम र यसको असरबारे सहजीकरण गरेका थिए । जनचेतनामुलक कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक बुद्धिजीवी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।