काठमाडौं/ कांग्रेसलाई २००७ सालको जस्तै जुझारू तथा २०१५ सालको जस्तै प्रगतिशील र जनप्रिय बनाउने संकल्प सहित सोमवार पार्टी पुनर्जागरण अभियानको प्रारम्भ भएको छ ।

काँग्रेस नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् , रामहरि खतिवडा र प्रदीप पौडेल लगायतका नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर पार्टीलाई पुनर्जागरण अभियान सुरु गरेका छन् ।

२१ औं शताब्दि अनुकुलको आधुनिक राजनीतिक संगठनको रुपमा स्थापित गरेर समृद्ध नेपालको नेतृत्व गर्न सक्ने योजना, साहस र समर्पण सहितको नेतृत्व, जनताको भरोसा र विश्वास जितेको पार्टीको रुपमिा स्थापित गर्ने संकल्प अभियानमा सहभागि नेताले लिएका हुन् ।

प्रजातन्त्र दिवस, २००७ सालको जनक्रान्तिलाई स्मरण गर्दै नेपाली कांग्रेस पुनर्जागरण अभियानले  तत्काल महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउने, देशैभरी सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउने, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने र सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउने  बताइएको छ ।

अभियानले सोमवार संक्षिप्त अवधारणा जारी गर्दै  कांग्रेसलाई आन्तरिक लोकतान्त्रिक संस्कृतिसहितको पार्टी बनाउने, पार्टीले नेतृत्व पर्नै पर्ने सामाजिक आन्दोलनका मुद्दाहरुलाई पहिचान गर्दै पार्टीभित्र निस्तेज हुँदै गएको सामाजिक आन्दोलनको भावनालाई पूर्नजागृत गरेर सामाजिक आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पुर्‍याउने उल्लेख गरेको छ ।

अभियान कुनै गुट र व्यक्ति प्रति लक्षित नरहेको जनाउदै अभियानले  ‘‘हामी प्रष्ट गर्न चाहन्छौं–यो कुनै गुट होइन, कुनै व्यक्तिविरुद्ध लक्षित पनि होइन । यो पाटी सुदृढिकरणको साझा संकल्प बोकेका पार्टीका सबै सदस्यहरुको अभियान हो,’’ जारी अवधारणा पत्रमा उल्लेख छ ।

'संविधान निर्माण पछिको परिवर्तित सन्दर्भमा पार्टीको सैद्धान्तिक प्रष्टताका लागि पार्टीको आदर्श र सिद्धान्तको पूर्नब्याख्या पनि गर्ने बताएको छ । संविधानले निर्दिष्ट गरेको संघीय तथा समावेशी संरचना र बदलिँदो आर्थिक, सामाजिक परिवेश अनुसार संगठनको पूर्नसंरचना गरेर कांग्रेसलाई पूर्ण लोकतान्त्रिक, समावेशी गतिशिल र अनुशासित पार्टी बनाउन संगठनको खाका कोर्ने अवधारणमा उल्लेख गरिएको छ ।

 अवधारण पत्रमा गतिशिलता, असल आचरण र समर्पण भएको स्वप्नशिल नेतृत्व, पार्टीभित्र सवै सदस्यले आत्मसम्मान र अपनत्व अनुभूति तथा समान अवसर र न्यायको सुनिश्चितता हुन सक्ने २१ औं शताव्दि अनुकुलको आधुनिक पार्टी निर्माण गर्न पार्टीभित्र र बाहिर जनमत तयार गर्ने पनि दावी गरिएको छ ।

नेपाललाई अवको १५ वर्षभित्र कम्तिमा पनि अतिकम विकशित राष्ट्रको समुहबाट माथि उठाई समान सुखी र खुशी नेपाली भएको समुन्नत देश बनाउने संकल्प सहित नेपाली कांग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर नेपालको आर्थिक सामाजिक रुपान्तरणको भरपर्दो सारथी बनाउने मुख्य ध्येयका रहेको जनाइएको छ ।