जतिजति माग र चर्चा चुलिँदै जान्छ, उतिउति कलाकारको जीवनशैली पनि परिवर्तन हुन थाल्छ । एक समय घरभाडा समेत तिर्न नपुग्ने पारिश्रमिकमा खुम्चिने नेपाली कलाकारहरु अहिले २० देखि ५० लाखसम्म डिमाण्ड गर्न थालिसकेका छन् ।

नेपाली फिल्मको बजार मन्द गतिमा अगाडि बढे पनि कलाकारको पारिश्रमिक भने दिन प्रतिदिन आकाशिदो छ । सँगै उनीहरुको रियल लाइफ पनि लग्जरी बन्दै गएको छ ।

ह्यान्डसम भिलेनका रुपमा कहलिएका अनुप विक्रम शाही पनि महंगा अभिनेताहरुको सूचीमा पर्छन् । फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, अचेल उनी एक फिल्म गरेबापत ८ लाखसम्म बुझ्न गरेका छन् । प्रत्येक फिल्मबाट अभिनयको तारिफ आफ्नो पोल्टामा पार्दै आएका अनुपको जीवनशैली पनि निकै लोभलाग्दो छ ।

नेपालमा कमै व्यक्तिले चढ्ने विश्वकै सर्वाधिक चर्चित प्रिमियम बाइक डुकाटीमा उनी हुँइकिने गर्छन् । बिहीवार महाराजगञ्ज पानीपोखरीमा रहेको जिनेसिस क्याफेमा फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'हुर्रे' को प्रमोशनमा भेटिएका अनुप २४ लाख पर्ने डुकाटी बाइकमा देखिए ।

बाइकसँग तश्बिर खिचाउन नमानेका अनुप भन्छन्, 'यो बाइक किन्न मलाई ८ वर्ष लाग्यो । मेरो ड्रिम नै यस्तै खालका बाइक चढ्ने छ ।'

कार किन्ने सोच नबनाएका उनी अगाडि भन्छन्, 'मसँग अझै यस्तै ५/७ वटा बाइक होस्, मलाई कार चाहिँदैन । म बाइकको निकै सौखिन हुँ ।' उनीसँग ६ लाख पर्ने एउटा बुलेट बाइक पनि छ ।

यसअघि युवा स्टार अनमोल केसीले पनि २३ लाखको डुकाटी बाइक किनेका थिए । डुकाटी नेपाली सडकमा ८५ वटा हुँइकिन्छन् । नेपालमा डुकाटीको मूल्य १८ लाखदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ ।