काठमाडौं । आउदो मार्च १० मा हुने भनेको कार्यक्रम विप्लव माओवादीको चेतावनीका कारण स्थगित भयो । उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अग्रिम लिइसकेको बुझिएको छ । सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाइसकिएकाले ढिलो चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका १ सय १० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले बतायो ।

तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । तर सँधैका लागि रद्द गर्न सकिने विषयमा केही उल्लेख छैन । त्यसैले यदि ओडीसी इन्टरनेसनलले भविष्यमा यो कार्यक्रम गर्न सकेन भने उसको पाँच करोड फिर्ता ल्याउन कठिन हुनेछ ।

ओडीसी इन्टरनेसनलका प्रमुख सीमान्त गुरुङ भन्छन्, ‘अहिलेको स्थितिलाई मध्येनजर गरेर कार्यक्रम स्थगित गरिएको हो, तर हामी चाँडै नयाँ मिति तय गर्छौं । हामी शान्तिपूर्ण माहोलमा कार्यक्रम गर्न चाहन्छौं ।’ यस विषयमा सलमान खानले आजै बेलुकी विज्ञप्ति जारी गर्न सक्ने उनले बताए । देशमा एउटा विदेशी सेलिब्रिटी आएर प्रस्तुति दिने कुरालाई नकारात्मक रुपमा नलिइदिन गुरुङले आग्रह गरे ।

‘हाम्रो देशका कलाकारहरु पनि विभिन्न देशमा गएर प्रस्तुति दिनुहुन्छ, त्यसैगरी विदेशबाट पनि कलाकारहरु यहाँ आउनुलाई अन्यथा लिन मिल्दैन,’ उनले भने । २६ गते हुने भनिएको शोका लागि अहिलेसम्म करिब ५ हजार टिकट बिक्री भइसकेका छन् । निकट भविष्यमै शो आयोजना हुने र यही टिकटबाट हेर्न सकिने गुरुङ बताउँछन् । तर कुनै कारणबस पछि कार्यक्रममा उपस्थित हुन सक्दैनौं भन्नेहरुले पैसा फिर्ता लैजान सक्ने पनि उनको भनाइ छ ।