विजयपुर/ नेपाली साहित्यको तेस्रो आयामका अभियन्ता इन्द्रबहादुर राईको मङ्गलबार दार्जिलिङमा निधन भएको खबरले साहित्यकार मात्र होइन, नेपाली भाषा र साहित्यका अभियन्ताहरू पनि स्तब्ध भएका छन् । भारतवासी भए पनि राई नेपाली साहित्य र वाङ्मयको विकासमा सक्रिय थिए ।

भाषाविद् प्राडा टङ्कप्रसाद न्यौपानेले राई जत्तिका साहित्यकार अहिलेसम्म नभेटिएको बताए । प्राडा न्यौपानेले बुधबार भने, ‘भाषा–साहित्यको नेतृत्व गर्ने क्षमता जति इन्द्रबहादुर राईसँग थियो, अहिलेका विद्वान्सँग छैन ।’ साहित्यकार राईलाई नजिकबाट बुझेका भाषाविद् न्यौपानेले भने, ‘राई नेपाली साहित्यको मात्र हैन, नेपाली वाङ्मयकै शीर्षस्थ व्यक्तित्व थिए ।’ प्राडा न्यौपानेको भनाइअनुसार राईले नेपाली भाषा र साहित्यलाई तीन किसिमका सिर्जना दिएका छन् ।

उनले मौलिक सिर्जनाअन्तर्गत आख्यान र समालोचना लेखेका छन् । ती सबै नयाँ आयामका छन् । ‘दोस्रो भनेको चिन्तन हो’, न्यौपाने भन्छन्, ‘तेस्रो आयामपछिको लीलालेखनको प्रतिपादन नै राईले गरेका हुन् ।’ उनले पश्चिमा साहित्यले गरेको विश्लेषणभन्दा फरक ढङ्गले पूर्वीय साहित्यको बौद्धिक व्याख्या शुरु गरेको दावी गरे । ‘तेस्रो भनेको परदेशीको दुःख व्यक्त गर्ने आधिकारिक व्यक्तिका रूपमा आपूmलाई स्थापित मात्र गरेनन्, दुनियाँलाई सिकाए पनि ।’ प्राडा न्यौपानेले भने । यस्ता साहित्यकारलाई गुमाउँदा ठूलो क्षति भएको बताउँदै उनले थपे, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली छ ।’

साहित्यकार तथा ब्लाष्ट टाइम्सका प्रधान सम्पादक राजकुमार कार्कीले भने, ‘नेपाली साहित्यमा तेस्रो आयाम आन्दोलनका प्रणेता इन्द्रबहादुर राई नेपालको साहित्यिक आकाशमा सधैँ उदाइरहने एउटा नाम हो ।’ नेपालबाहिर रहेर पनि नेपाली साहित्यलाई अगाध माया गर्ने नेपाली साहित्यका नायक राईको देहावसानले आफूलाई मर्माहत बनाएको उनले सुनाए ।

स्वर्गीय राईले छाडेर गएको गौरवपूर्ण इतिहासको रक्षा भावी पुस्ताले गर्नुपर्ने साहित्यकार कार्कीको भनाइ छ । ‘नेपाल सरकारले पनि उच्च सम्मान दिँदै भाषा, साहित्य र संस्कृतिको सिङ्गो विश्वविद्यालयका रूपमा रहेका साहित्यका महानायक राईको सम्पदालाई संरक्षण गर्नुपर्छ ।’ कार्कीको भनाइ छ ।

साहित्यकार बद्रीविशाल पोखरेलले साहित्यकार राई आफ्नो युगको सृजनाधारलाई प्रभावकारी ढङ्ग र नवीन शैलीबाट व्यक्त गर्ने व्यक्तित्व भएको बताए । भारतमा नेपाली भाषा र साहित्यको चिन्तनलाई स्थापित गर्ने व्यक्तित्व नै इन्द्रबहादुर राई भएको पोखरेलको भनाइ छ ।

राईका आज रमिता छ (उपन्यास), विपना कतिपय (कथासङ्ग्रह), ‘कठपुतलीको मन’ (कथासङ्ग्रह), कथास्था (कथासङ्ग्रह) तथा समालोचना ग्रन्थहरू सेतो ख्याकको बनोट र बुनोट, टिपेका टिप्पणीहरू, नेपाली उपन्यासका आधारहरू, सन्दर्भमा ईश्वरवल्लभका कविता, साहित्यको अपहरण, माक्र्सवादी प्रतिबद्धता, अर्थहरूको पछिल्तिरलगायत कृति प्रसिद्ध छन् । गत वर्ष श्रीमती बितेपछि मानसिक रूपले समेत कमजोर बनेका राईको मङ्गलबार ९० वर्षको उमेरमा निधन भएको हो ।